जुम्लाका होटेलहरुमा खानाको रोजाइमा फापर

Posted on: 29 Jul, 2019

साउन १३, जुम्ला | जुम्ला जिल्लामा पुर्खाले लगाउने रैथाने बालीमध्ये एउटा होे फापर । जुम्लाका साविकका सम्पूर्ण गाविसमा धेरै उत्पादन हुने बाली फापर अहिले यहाँको स्थानीय सरकारले संरक्षणमा कुनै चासो देखाएका छैनन् ।

वर्षौंसम्म नबिग्रने विशेषगरी हिमाली र पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो फापर । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने फापरको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ । 

विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा मङ्सिरको पहिलो सातादेखि कात्तिकसम्म बाली घरमा भण्डार गरिसकेपछि सर्वसाधारणले फापर लगाउने गर्दछन् । विगतमा फापर लगाइने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् । फापरको उत्पादन घट्दै गए पनि यसको माग अहिले जुम्ला सदरमुकामका ठूलो स्टार होटलमा बाह्य तथा आन्तरिक पर्यटकको खानाको रोजाइमा परेको छ । फापरको माग अहिले अत्यधिक रहेको तिला गाउँपालिकाका कृषक माने बुढाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिला विपन्न वर्ग एवं समुदायको दैनिक आहाराका रूपमा फापर रहेको थियो । अहिले भने ठ्याक्कै उल्टो भएको छ, हुने खानेको रोजाइमा फापर हुन थालेको छ ।” फापरमा मानिसको शरीरलाई आवश्यक पर्ने धेरै किसिमका पौष्टिक तत्व पाइने भएकाले स्वास्थ्यका लागि पनि बहुउपयोगी भएको उहाँले बताउनुभयो । उहाँका अनुसार मधुमेहजस्ता रोगीका बिरामीले पनि खान हुने भएकाले बजारमा फापरको अत्यधिक माग हुने गरेको छ । 

फापरबाट केक, रोटी, ढिँडोजस्ता परिकार बनाउने गरिन्छ भने यसबाट घरेलु केक पनि बनाउने गरिन्छ । फापर खेतीको सम्भावनालाई स्थानीयवासीको आयआर्जन बढाउन यहाँका आठ स्थानीय सरकारले आफ्नो प्राथमिकतामा नपारेको नागरिक समाजका संयोजक राजबहादुर महतले बताउनुभयो ।  

जुम्लाबाट तराई बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश फापर उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीको सम्भावनालाई उजागर गर्न स्थानीय सरकारले वार्षिक नीति तथा कार्यक्रममा नै समावेश गरी यसलाई प्राथमिकतामा राख्दै जानुपर्ने समय भएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । 

तिला गाउँपालिका क्षेत्र पदयात्रा पर्यटनको उत्कृष्ट गन्तव्य मानिन्छ । तिला क्षेत्रमा फापर उत्पादनमा अभिप्रेरित गर्ने कार्यक्रमका साथै यहाँका प्रत्येक होटलमा फापरको स्थानीय केकको परिकार राख्नुपर्ने अनिवार्य व्यवस्था गर्न लागिएको अध्यक्ष योगीले जानकारी दिनुभयो ।

गाउँपालिकालाई फापरमा आत्मनिर्भर बनाउने लक्ष्यअनुरूप फापर खेतीको प्रवद्र्धन गर्न अनुदान योजना अघि सारेको गाउँपालिकाका नौ वटै वडामा एक-एक वटा फापर गोड्ने उपकरण वितरण गर्ने सोच राखिएको योगीले बताउनुभयो । गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष फापर उत्पादन गर्न किसानलाई अनुदानमा उपलब्ध गराएको कार्यक्रम समावेश भएकाले उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइने गाउँपालिकाका प्रवक्ता सन्तवीर रावतले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!