छोराले गरे आफ्नै बावुको हत्या

Posted on: 27 Jul, 2020

साउन १२, सुर्खेत | आफ्नै छोराको कुटाईबाट जुम्लाका एक बृद्धको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरी घर आएका छोराले कुटपिट गर्दा बावुको मृत्यु भएको हो । जुम्ला कनकासुन्दरी गाउँपालिका–४ निवासी ३५ वर्षीय छोरा ऐनबहादुर शाहीले आफ्नै बुवा ७५ वर्षीय बृद्ध दानबहादुर शाहीलाई कुटपिट गरी हत्या गरेका हुन् । 

शनिबार मध्यराती बाहिरबाट मदिरा सेवन गरी घर आएका ऐनबहादुरले एक्कासी आफ्नै बाबालाई कुटपिट गर्नुको कारण भने खुलेको छैन । साउन १० गते राती कुटपिट भए पनि बृद्धको मृत्यु ११ गते दिउसो मात्रै भएको हो । प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार घटनापछि घाइते भएका बृद्धलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । अहिले मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रहरीका अनुसार सोमबार नै मृतकको शव पोष्मार्टम गरी आफन्तलाई बुझाउने तयारी छ । मृतक बृद्धको टाउको, आखा र कोखामा चोटपटक लागेको छ । मृतक पूर्व नेपाल प्रहरीका असई समेत हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै बावुको हत्या गर्ने छोरा ऐनबहादुर शाही प्रहरी नियन्त्रणमा छन् । 

नियन्त्रणपछि उनलाई गाउँ नजिकैको कनकासुन्दरी प्रहरी चौकीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान गर्न र नियन्त्रणमा परेका ऐनबहादुरलाई जिल्ला सदरमुकाम ल्याउन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक देवाराज भट्टराई सहितको टोली घटनास्थल तर्फ गएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!