बिजुली माग्दै जुम्लावासी

Posted on: 07 Dec, 2020

मङ्सिर २२, खलङ्गा । झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन् । उनीहरुले तत्काल बिजुली नियमित आपूर्ति हुने व्यवस्था गर्न माग गरेका छन् । 

विद्युत् तथा सञ्चारसेवा आपूर्ति सङ्घर्ष समिति जुम्लाले पत्रकारसम्मेलन गरी नियमित विद्युत् आपूर्तिको माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । समितिका संयोजक तथा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जुम्ला अन्धकार हुँदा पनि कसैको चासो नगएकोप्रति आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो,“आधा महिनादेखि सदरमुकाममा बिजुली छैन, उपभोक्ताका आधारभूत आवश्यकता पूरा हुनसकेका छैनन् । बिजुली आपूर्तिका लागि न विद्युत् प्राधिकरण जिम्मेवार बनेको छ । नत यहाँका राजनीतिक दलका नेताको चासो नै गएको छ । बिजुली आपूर्ति प्रक्रिया अन्येलमा परेको छ ।” 

समितिले अहिलेकै जेनेरेटरबाट विद्युत् आपूर्ति गर्नुपर्ने, राष्ट्यि प्रसारणलाइन ६ महिनाभित्र जडान गरी स्थायी रुपमा विद्युत् आपूर्ति गर्नुपर्ने, बोलपत्र आह्वान गरी जोडिएको मेसिनमा पटक–पटक खराबी देखिएकोले यथाशीघ्र छानबिन गर्नुपर्ने र छानबिन प्रतिवेदनका आधारमा ठेकेदारलाई कानूनी प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेको छ । जुम्लामा फोन र इमेलको क्षमता कमजोर हुँदा कार्यसम्पादन प्रभावित भएकाले नेपाल टेलिकम शाखा जुम्ला र सञ्चार मन्त्रालय समेतको ध्यानाकर्षण गर्ने सङ्घर्ष समितिले जनाएको छ ।  तत्काल उज्यालोका लागि विद्युत् प्राधिकरण र सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाका अध्यक्ष बरमबहादुर महतले बताउनुभयो । 

घुघुती विद्युत् गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलङ्गा बजारसहित सिङ्गो चन्दननाथ नगरपालिका दुई सातादेखि अन्धकार छ । वैकल्पिक व्यवस्थाका  लागि ल्याइएको डिजेल प्लान्ट इन्धन अभावले थन्किएको छ । विसं २०४० मा घुघुतीमा उत्पादित विद्युतगृहको मेसिन जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको रु दुई करोड ६३ लाख बजेटबाट नयाँ मेसिन जडानको काम शुरु गरेको थियो । 

समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो ।  नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक–पटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारो खेप्नु परेको छ । विद्युत् प्राधिकरणको लापरवाहीले सदरमुकामवासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेको स्थानीयवासी भक्त रोकायाले बताउनुभयो ।

“भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौँ”, उहाँले भन्नुभयो । नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको रोकायाले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!