विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ

Posted on: 16 Oct, 2020

असोज ३०, टीकापुर । समयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो । कैलालीको टीकापुर नगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ लेन सडक क्षेत्रभित्र ३३ केभीअन्तर्गतका १४ वटा पोल सार्नुपर्ने भएको छ । छ लेन सकड निर्माणाधीन क्षेत्रमा सातवटा टावर र सातवटा टिबलर पोल रहेका छन् ।

यी पोल झण्डै ३६ वर्षअघि निर्माण गरिएको बताइन्छ । तत्कालीन अवस्थामा फराकिलो सडक र बस्ती कम भएका कारण बजार क्षेत्रबाटै ३३ केभी प्रसारण लाइन लगिएको थियो । हाल बस्ती बढेसँगै ३३ केभी प्रसारण लाइन बजारको मध्यभागमा पर्न गएको स्थानीयवासी बताउँछन् । सडकमा भएका विद्युत्का पोल समयमै व्यवस्थापन नहँुदा सडक निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीका इञ्जीनियर गगनजङ्ग शाहीले बताउनुभयो ।

“एकातिर कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि कारण देशमा लकडाउन हुँदा कामदार घर फर्किए । त्यो समयमा काम निरन्तर गर्न सकिएन”, इञ्जीनियर शाहीले भन्नुभयो, “सकड निर्माणकार्य शुरु भएदेखि नै विद्युत् कार्यालयलाई पोल हटाइदिन आग्रह गरिरहेका छौँ । विद्युत् पोल नहटाएकै कारण काम प्रभावित भएको छ ।”

नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट कैलालीको टीकापुर नगरपालिकामा जमरापुलदेखि बसपार्कसम्म छ लेनको सडक निर्माण भइरहेको हो । सडक रमन के एस जेभी धनगढीले रु १३ करोड ८९ लाख १९ हजार ७८६ मा निर्माण गरिरहेको छ । निर्माण कम्पनीले अहिले सडकको नाली बनाउने, पर्खाल चिन्ने र कल्भर्ड निर्माण गर्ने काम गरिरहेको छ ।

दुई वर्षभित्र काम सक्ने गरी विसं २०७५ फागुन फागुन १५ गते निर्माण कम्पनीले ठेक्का लिई निर्माणको काम शुरु गरेको हो । आगामी २०७७ फागुन १५ भित्र काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारी र विद्युत्का पोल नहटेकै कारण समयमा काम सकिने अवस्था नरहेको ठेकेदार कम्पनीले जनाएको छ । सघन शहरी विकास कार्यक्रमअन्र्तगत लम्की–खक्रौला सडकखण्डको टीकापुर मुख्य बजारमा पर्ने टीकापुर नगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको दुई दशमलव तीन किलोमिटरमा छ लेन सडक निर्माण भइरहेको हो ।

निर्माण पक्षले प्रसारण लाइनका कारण सडक निर्माणमा ढिलाइ भइरहेको बताएको छ । “बारम्बार पत्राचार गरेका छौँ, विद्युत् कार्यालयलाई प्रसारण लाइन हटाइदिन आग्रह गरिरहेका छौँ”, इञ्जीनियर शाहीले भन्नुभयो, “कयौँ पटक भेटेर पनि आग्रह गर्यौं तर पनि कार्यालयले वास्ता गरेको छैन, काम गर्न समस्या भएको छ ।”

सङ्घीय आयोजना कार्यान्वयन कार्यालय कैलालीले समेत विद्युत् कार्यालयलाई प्रसारण लाइन हटाउन निर्देशन दिइसकेको छ । विद्युत् लाइन नसारेकै कारण सडक निर्माणका क्रममा काम गर्नसमेत जोखिम रहेको बताइन्छ । विद्युत् कार्यालय टीकापुरका प्रमुख हिमांशुकुमार यादव पोल सार्ने बारेमा स्टिमेट गरेर शहरी विकास मन्त्रालयमा पठाइसकेको बताउनुहुन्छ । “स्टिमेट शहरी विकास मन्त्रालय पठाइसकेका छौँ, त्यहाँबाट ऊर्जा मन्त्रालयमा आउनुपर्यो”, कार्यालय प्रमुख यादव भन्नुहुन्छ, “मन्त्रालयबाट प्राधिकरणको खातामा रकम जम्मा भएमा हामी बोलपत्र गरेर सार्ने काम गर्छौँ ।”

सङ्घीय सरकारको सहयोगमा टीकापुरमा अहिले छ लेनको सडक कालोपत्रसहित, ब्लक ‘ए’ का सबै सडक कालोपत्र र भ्यूटावरसहितको घण्टाघर निर्माण भइरहेका छन् । व्यवस्थित बसपार्क भने निर्माण सम्पन्न भई टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!