प्रदेश ७ को मन्त्रिपरिषद् बैठकद्वारा दुई विधेयक स्वीकृति

Posted on: 01 Jun, 2018

जेठ १८, कैलाली | प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई वटा विधेयकलाई प्रदेश सभा बैठकमा पेश गर्न स्वीकृति प्रदान गरेको छ । 

बैठकले गाउँ सभा र नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई प्रदेश सभाको बैठकमा पेश गर्न स्वीकृति प्रदान गरेको हो । 

बैठकले प्रदेशीय वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक, २०७५ लाई तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले बताउनुभयो । 

यसैगरी, कृषि अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ लाई पनि मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ । 

मन्त्री शाहले प्रदेश सरकारले आगामी असार १ गते प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने बजेटका सन्दर्भमा अर्थमन्त्रीले सरोकारवालाहरुसँग रायसुझाव संकलन गरिरहनुभएको बताउनुभयो । 

प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ २५ गते पेश गर्ने तयारी गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!