कर्णाली राजमार्गका दर्जर्नौ पक्की पुल अलपत्र

Posted on: 26 Dec, 2017

पुस ११, कालिकोट | कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्लासम्म २ सय ३२ किलोमिटर राजमार्गमा रहेको दर्जनौ पुल ठेक्का लगाए पनि अलपत्र अवस्थामा रहका रहेको छन् । राजमार्ग सञ्चालमा आएको १० वर्षदेखि विभिन्न निर्माण कम्पनीलाई पक्की पुल निर्माणको जिम्मा दिएको भए पनि कम्पनीको लापरवाहीका कारण कर्णाली राजमार्गका एक दर्जन बढी पक्की पुल अधुरै हुन् ।

कर्णाली राजमार्ग अन्तर्गतका दर्जनौ पक्की पुल नबन्दा यात्रुहरुले बर्षायाम निकै सास्ती भोग्नु परेको छ भने कर्णाली राजमार्ग दुर्घटनाको प्रमुख कारण समेत बन्न पुगेको छ । कालिकोट दैलेखको सिमानमा पर्ने घट्टेखोला पुल निर्माणको ०६९ सालदेखि पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्ने भन्दै याक्थुमहार गोल्डेन जेभी काठमाडौंले ४ करोड ५१ लाखमा निर्माणको जिम्मा लिएको थियो । तर, पुल आजसम्म पनि निर्माण नगरी झन बाटो बिगारेर यात्रुहरुलाई सास्ती दिने गरेको गाडी चालक नरबहादुर धामीले बताए । ‘ठेकेदारले आजसम्म पुल बनाएको छैन्’ उनले भने, ‘पहिले राम्रो रहेको पुल अहिले बिगारेर झन सास्ती दिने गरेको छ ।’

कर्णाली राजमार्गकै दैलेख सडकखण्डका गोठखोला र कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको भए पनि उनीहरु फरार रहेका छन् । त्यस्तै, राजमार्गको दैलेख खण्डको जाक्सी खोलामा पुल निर्माणका लागी ढलान गर्न मात्र बाँकी राखेर अलपत्र छोडिएको छ । घट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, खल्लागाड, बालीगाढ, सिम्ला खोलाको पुल निर्माणको जिम्मा लिएका ठेकेदारहरू फरार रहेको सडक डिभिजन कार्यालय जुम्ला प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

‘बालीघाट, सिम्ले, छिडेना खोला, घट्टेखोला, कर्णाली पुललगायतको जिम्मेवारी आफ्नो रहेका कारण ठेकेदार कम्पनीहरूलाई पत्र काटेको छौं’ उनले भने, ‘अहिले यस क्षेत्रमा आरएसडीपी नामक संस्थाले काम थाल्ने भएको छ ।’ कर्णाली राजमार्गको कालिकोट सडकखण्डमा पर्ने टाकुल्ला खोला पुल निर्माणको जिम्मा लिएको जागृती तुल्सी दुर्गा जेभीले २०६८ सालमा ३५ लाख पेश्की लिएर फरार भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!