अब अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षा योजनामा ल्याईन्छ: श्रममन्त्री, यादव

Posted on: 27 Nov, 2019

मंसिर ११, काठमाडौँ | श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सामाजिक सुरक्षा योजना कार्यन्वयनले आन्तरिक रोजगारी प्रवर्द्धन गर्न सघाउ पुर्याउने बताएका छन् । सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरक्षा योजनाले बैदेशिक रोजगारीलाई निरुत्साहित गर्न सहयोग पुग्ने बताए ।

 अौपचारिक क्षेत्रबाट शुरु भएको योजनालाई अनौपचारिक क्षेत्र र स्वरोजगार लाई समेट्दै लगिने मन्त्री यादवले  बताए । सबै रोजगारदाता र श्रमिक कोषमा आवद्ध भइ सुरक्षित भविष्यको सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए । राजधानीको भृकुटीमण्डपमा सरकार, रोजगारदाता र श्रमिकको सहभागितामा दिवसलाई भव्यरुपमा मनाईएको हो । 

कोषमा हालसम्म १० हजार ४ सय ७७ रोजगारदाता र १ लाख १५ हजार ६ सय ६ श्रमिक सूचीकृत भइसकेका सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । कोषमा हालसम्म १८ करोड १३ लाख २ हजार ७ सय ८१ रुपैयाँ योगदान रकम संकलन भइसकेको उनले बताए । हालसम्म ६९ जिल्लाका रोजगारदाता तथा श्रमिक सुचिकृत भएको कोषले जनाएको छ । पहिलो चरणमा औपचारिक क्षेत्रको प्रतिष्ठानस्तरका श्रमिकहरुलाई समेट्ने र दोश्रो चरणमा अनौपचारिक र स्वरोजगारलाई यस योजनाले समेट्ने गरि काम गरिएको ज्ञवालीले बताए।

गत वर्ष मंसिर ११ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले ‘नयाँ युगको शुरूवात’का रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको थियो । सरकारले सामाजिक सुरक्षा योजना कार्यक्रम घोषणा भएको दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!