जानकी गाउँपालिकाद्वारा एक हजार १०० फलफूलका विरुवा वितरण

Posted on: 09 Jul, 2020

असार २५, लम्की । कैलालीको जानकी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन एक हजार १०० फलफूलका बिरुवा वितरण गरेको जनाइएको छ । “घरको आँगन, बारीमा बिरुवा लगाई फलफूलको उपभोगमा वृद्धि गराउन बिरुवा वितरण गरेका हौँ”, कृषिशाखाका प्राविधिक टोपबहादुर विष्टले भन्नुभयो, “प्रतिकिसान दुई बोट आँप र एक बोट लिची वितरण गरिएको छ ।”

यहाँका किसानले परम्परागत खेती गर्ने गरेका छन् । किसानलाई अन्नबालीसँगै फलफूलतर्फ पनि आकर्षित गर्ने योजना गाउँपालिकाको रहेको विष्टको भनाइ छ । “यस वर्ष किसानलाई शतप्रतिशत अनुदानमा ५०० बोट लिची र ६०० बोट आँप वितरण गर्यौं ”, विष्ट भन्नुहुन्छ, “यहाँका अधिकांशको खेती र बारी छ । रकम दिए किनेर लगाउँदैनन्, बिरुवा दिए अनिवार्य लगाउँछन् भनी विरुवा नै दिएका हौँ ।” गाउँपालिकाले गत वर्ष पनि फलफूलका बिरुवा वितरण गरेको थियो । यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।


कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पनि फलफूल खेती विस्तारलाई प्राथमिकता दिएको छ । सिँचाइ आयोजना कृषितर्फको सहयोगमा सञ्चालित फलफूल तथा बगैँचा निर्माणका लागि यस वर्ष ३१ हेक्टरमा थप केराखेती र १० हेक्टर क्षेत्रफलमा फलफूलअन्तर्गत आँप, कागती र लिचीखेती कार्यक्रम सञ्चालन भएको छ ।  आयोजनाले किसानको मागअनुसार बेर्नामा ५० प्रतिशत र उत्पादन बढाउनका लागि सुक्ष्म तत्वमा ७५ प्रतिशत अनुदान सहयोग गरेको छ । आयोजनाले पनि किसानलाई फलफूलमा आत्मनिर्भर बनाउने योजना बनाएको छ । “कैलालीको टीकापुर क्षेत्र केरामा भने आत्मनिर्भर छ । अन्य फलफूल बाहिरी जिल्ला तथा भारतबाट आउने गरेको छ”, किसान अगुवा लालवीर चौधरी भन्नुहुन्छ, “आयोजनाको सहयोगले यहाँका किसानले मेहेनत गरेमा फलफूलमा पनि आत्मनिर्भर बन्न सकिन्छ ।” रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!