आरजुको उम्मेदवारीले उत्साहित मतदाता

Posted on: 14 Nov, 2017

कात्तिक २८, धनगढी । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रधानमन्त्रीपत्नी एवम् कांग्रेस नेतृ डा. आरजु राणाको उम्मेदवारीले यति बेला कैलाली ५ देशभर चर्चामा छ। 

प्रदेश नं. ७ को मुख्य शहर भएपनि सधैं ओझेलमा पर्दै आएको धनगढीतर्फ यतिबेला आरजुको उम्मेदवारीले भने सबैको ध्यान केन्द्रीत भएको छ। यहाँ पनि चिया चोक देखि सबैतिर चर्चाको विषय बनेको छ।

मतदाताहरुमा पनि उत्साह देखिन्छ। प्रधानमन्त्री पत्नी र सामाजिक क्षेत्रमा पनि सक्रिय आरजुका कारण धनगढीको समग्र विकासमा पनि टेवा पुग्ने उनीहरुको अपेक्षा छ। ‘आरजुका कारण डडेल्धुरामा धेरै विकास भएको हामीले सुनेका छौं, अब उहाँ हाम्रै क्षेत्रमा आएपछि यहाँ पनि विकास होला नि,' मनोनयन दर्तापछि घर दैलो गर्ने क्रममा स्थानीय गंगा भण्डारीले भनिन्, ‘उहाँको उम्मेदवारीले हामीलाई खुसी बनाएको छ।'

मनोनयन अघि नै कात्तिक १४ गते देखि १० दिनको पहिलो चरणको चुनावी कार्यक्रम सकेर आरजु दोस्रो चरणको कार्यक्रमको तयारी छिन्। नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्वर ५ मा बुधबार देखि दोस्रो चरणको चुनावी कार्यक्रम सुरु हुनेछ।


कांग्रेसले आफ्नो प्रभाव क्षेत्र मान्दै आएको कैलाली ५ मा आरजुको उम्मेदवारीले जितका लागि थप सहज भएको बताएको छ। कांग्रेस जिल्ला सभापति शाह भन्छन्, यो हाम्रो राम्रो संगठन भएको क्षेत्र हो, हामीलाई यहाँ कुनै पनि गठबन्धनले असर गर्दैन।'

उसो त यति बेला आरजुलाई शेरबहादुर देउवाको राजनीतिक उत्तराधिकारीको रुपमा पनि चर्चा गर्न थालिएको छ। चुनावी प्रचारप्रसारका क्रममा कांग्रेसले उनको उम्मेदवारीलाई सोही रुपमा प्रचार गरिरहेको छ। ‘उहाँ नेपालको पहिलो महिला प्रधानमन्त्रीको सम्भावना बोकेको व्यक्ति हो, त्यसैले पनि पार्टीले उहाँलाई अगाडि सारेको हो' कांग्रेस सभापति शाहको दावी छ। यसअघि २०७० सालको निर्वाचनका देउवाले फराकिलो अन्तरले जितेको क्षेत्र हो।

कतिपय स्थानीय तहको मतपरिणामका कारण आरजुलाई जित्न सहज नभएको दावी गरिरहेका छन। स्थानीय तहको मतपरिणाम अनुसार करिव पाँच हजार मतले बाम गठबन्धन अगाडि छ। 

तर कांग्रेसका नेताहरु भने स्थानीय तहको मतलाई आसन्न निर्वाचनको हारजीतलाई हेर्न नमिल्ने बताउँछन्। कैलालीमै आरजुले गरेका सामाजिक कामहरुलाई पनि उनको सबैभन्दा ठुलो जित्ने आधार मानिएको छ।

‘आरजुले महिला र बालवालिकाको क्षेत्रमा यस क्षेत्रमा सामाजिक काम गर्नुभएको छ । सेती अञ्चल अस्पताल परिषरभित्र कुपोषित बालबालिकाका लागि खोलिएको पोषण केन्द्र होस वा उनको आफ्नो गैर सरकारी संस्था ‘रुडुक नेपाल'को ब्यानरमुनी गरिएका स्वास्थ्य शिविरहरु हुन, आरजु सामाजिक कार्यक्रममा सहभागि हुने महिला हुन्। 

त्यसकारण उनलाई मतदाताले रुचाएका छन्' अर्का कांग्रेसका नेता तथा प्रदेश ख का कांग्रेसकै उमेदवार डिल्लीराज पन्तले बताए।

आरजुको उम्मेदवारीलाई लिएर अन्य दलहरुले उनलाई टुरिष्ट उम्मेदवार भन्दै प्रचारवाजी गरेपछि उनले धनगढीमै घर किनेकी थिईन्। जसले गर्दा उनलाई चुनावमा झनै सहज बनाएको छ। आरजुले धनगढीको विकासमा आफू पहिला देखि सक्रिय भएर लागेको बताएकी छिन्। 

चुनावी अभियानका क्रममा आरजुले भनिन्, ‘अब त म यहाँकै उम्मेदवार भएपछि थप जिम्मेवारी महसु्स भएको छु र अब धनगढीको मात्र नभएर समग्र कैलालीको विकासमा केन्द्रीत हुन्छु।'

उनको प्रतिस्पर्धीका रुपमा बामगठबन्धनका तर्फबाट नेकपा एमालेका नेता नारदमुनी राना उम्मेदवार रहेका छन्। कैलालीका राम्रो जनाधार भएको फोरम लोकतान्त्रिक का‌ग्रेसमा विलय भएपछि आरजूलार्इ थप सहज हुने स्थानीय मतदाताको भनाइ छ। अन्नपुर्ण पोष्ट दैनिकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!