नगर प्रमुखको घर परिसरमा शक्तिशाली बम विस्फोट

Posted on: 24 Jan, 2018

माघ १०, धनगढी । कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ । 

बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको जनाइएको छ । 

हावा हुरीसँगै वर्षा भइरहेको समयमा करिब २ बजे राति बम विस्फोटन गराइएको नगर प्रमुख साउदले बताउनुभयो । घटनास्थल बाट ३५ मिटर विद्युतीय तारसमेत बरामद भएको छ । 

स्थानीय तहको निर्वाचनमा साउद एमालेका तर्फबाट गोदावरी नगरको प्रमुखमा निर्वाचित हुनुभएको थियो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!