धनगढीमा आधुनिक धर्मशाला सञ्चालनमा

Posted on: 19 Apr, 2018

वैशाख ६ धनगढी | प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा बुधबारदेखि आधुनिक धर्मशाला सञ्चालनमा आएको छ । 

श्रीकृष्ण मन्दिर परिसर धनगढीको परिसरका गीता सत्संग समितिको पहलमा निर्माण भएको दुई तल्ले धर्मशाला भवनमा सभा हल, धार्मिक संस्कार गर्ने कोठा र शयन कक्षसमेत झण्डै २० वटा कोठा रहेका छन् । 

रु एक करोड ८२ हजारको लागतमा निर्माण भएको यो धर्मशाला निर्माणमा विभिन्न सरकारी कार्यालयबाट रु २३ लाखको सहयोग प्राप्त भएको जनाइएको छ । झण्डै रु ७७ लाख विभिन्न दाताबाट सहयोग जुटाइएको हो । निजी दाताको सम्मानमा धर्मशालाका कोठाको नामाकरण पनि गरिएको छ । 

सात नम्बर प्रदेशकै पहिलो आधुनिक यो धर्मशालाबाट देश विदेशका सर्वसाधारण लाभान्वित हुने भएका छन् । व्यवस्थापन समितिले धर्मशालामा आउने सर्वसाधारणलाई न्यूनतम् रु १०० देखि अधिकतम् रु ४०० सम्मको सेवा शुल्क निर्धारण गरेको निर्माण समितिका अध्यक्ष डा मुक्तिकान्त पन्तले बताउनुभयो । 

स्वास्थ्योपचारका साथै धार्मिक पर्यटनका लागि धनगढी पुग्ने स्वदेशी र विदेशी नागरिकका लागि यो धर्मशालाले ठूलो राहत पुर्याउने विश्वास गरिएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले बुधबार एक समारोहका बीच धर्मशालाको उद्घाटन गर्नुभयो । सो अवसरमा धर्मशाला निर्माणमा सहयोग गर्ने दातालाई सम्मानित गरिएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!