मलको अभाव हुँदा कृषक समस्यामा

Posted on: 06 Nov, 2018

कात्तिक २०, धनगढी | धान बाली भित्र्याएर गहुँ खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका कैलालीका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् । 

सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात सकिएपछि जिल्लामा मलको अभाव सिर्जना भएको हो । 

मलको अभाव सिर्जना हुँदा यस वर्ष गहुँको उत्पादन घट्ने देखिएको स्थानीय कृषक रामदिन चौधरीले गुनासो गर्नुभयो । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले कार्यालयमा सरकारी अनुदानको युरिया र डिएपीको मौज्दात सकिएको तथा अनुदान नभएको सिङ्गल सुपरफस्पेट र एमोनियम फस्फेट मल मात्र मौज्दात रहेको बताउनुभयो । 

यद्यपि अनुदान नभएको मलमा किसानको माग त्यति नरहेको बताइएको छ । मलको समयमै आपूर्ति नगरिएको भन्दै आक्रोशित किसानको समूहले केही दिन अघि कृषि सामग्री लिको धनगढीस्थित कार्यालयमा तालाबन्दीसमेत गर्नुका साथै प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडि प्रदर्शनसमेत गरेका थिए । 

कृषि सामग्री कम्पनी धनगढी कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले मल ढुवानीकर्ताको लापर्वाहीले गर्दा मल समयमै आपूर्ति हुन नसकेर अभाव सिर्जना भएको बताउनु्भयो । साल्ट ट्रेडिङ र कृषि सामग्रीले सहकारी संस्थामार्फत् अनुदानको रासायनिक मल बिक्री वितरण गर्दै आएका छन् । धान र गहुँको दुई मौसममा गरिने खेतीका लागि सुदूरपश्चिम प्रदेशमा झण्डै १२ हजार मेट्रिक टन बढी रासायनिक मलको आवश्यकता पर्ने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!