१६ वर्षीय युवती मृत अवस्थामा फेला, ज्याकेट र जुत्ता निर्माणाधिन घरभित्र भेटियो

Posted on: 30 Nov, 2018

मङि्सर १४, टीकापुर । कैलालीको टीकापुर नगरपालिका १ ब्लक नं १६ स्थित देवु राइस मिल नजिकै एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । मृतक किशोरी  सोही ठाउँकी १६ वर्षीय पूजा रावलको भएको प्रहरीले जनाएको छ।


शव निर्माणाधीन एक घरको चौरमा घोप्टो परेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। निर्माणाधिन घरको कोठामा उनको ज्याकेट र जुत्ता फेला परेको प्रहरीले बताएको छ । 

सोही घरभित्र दुई ठाउँमा वान्ता गरेको, एक ठाउँमा दिसा गरेको पाइएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिवबहादुर सिँहले जानकारी दिए। उनले ज्याकेटको खल्तीमा कालो पोलेथिनमा बेरेर राखेको अवस्थामा एकथान सल्फास जस्तै विषादी भेटिएको बताए ।

प्रहरीले घटनास्थलमै स्थानीयको रोहबरमा शवको जाँच गरेको थियो। जाँचका क्रममा शरीरको कुनैपनि ठाउँमा चोटपटक नभेटिएको प्रहरीको भनाई छ। डिएसपी सिँहले पोष्टमार्टम पछि मात्रै घटनाका बारेमा केही तथ्य पत्ता लाग्ने बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!