धनगढीबाट लागुऔषध सहित पाँच जना पक्राउ

Posted on: 11 Sep, 2019

भदौ २५, कैलाली | कैलालीको धनगढीमा लागुऔषध सहित पाँच जना पक्राउ परेका छन् | त्रिनगर भन्सार नाकामा मोटरसाईकल चेकजाँचका क्रममा लागु औषध सहित तीन जना र धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाबाट दुईजना गरी पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार  त्रिनगर भन्सार नाकामा भारतबाट नेपाल तर्फ आउँदै गरेको से ३ प ९५१२ नम्बरको मोटरसाईकलमा लागु औषध ल्याउँदै गरेका धनगढी उपमहानगरपालिका वडा नम्बर  २ का २० वर्षीय नरेन्द्र विष्ट, बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ५ का १८ वर्षीय मनोज भण्डारी र उनीहरुलाई मोटरसाईकल र खरिदका लागि पैसा दिने  धनगढी ३ का ३० वर्षीय सुमित अधिकारी पक्राउ परेका हुन् |

उनीहरुको साथबाट चार ग्राम ९८ मिलिग्राम ब्राउनसुगर, छ ट्याब्लेट स्पामो, पाराभोरीन स्पास १० ट्यावलेट, विन्स स्पास ६ ट्याबलेट र नाईटो भ्याट ५ ट्याबलेट सहित से ३ प ९५१२ नम्बरको मोटरसाईकल बरामद गरिएको हो।

यस्तै मंगलबार नै जुगेडा प्रहरी चौकीबाट खटिएको टोलीलले भारतको सुडाबाट से ६ प ८०४६ नम्बरको मोटरसाईकल चेकजाँचका क्रममा थप दुईजनालाई लागु औषध सहित पक्राउ गरेको छ | पक्राउ पर्नेमा बोराँडाडीका २६ वर्षीय राम राना र सोही स्थानका १८ वर्षीय सुनिल राना रहेका छन्। उनीहरुको साथबाट दुई ग्राम सात सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरी मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!