सुदूरपश्चिममा २२ हजारको कोरोना परीक्षण

Posted on: 19 May, 2020

जेठ ६, कैलाली | सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ हजार २९२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म पिसीआर विधिबाट तीन हजार ७९७ तथा आरडिटी विधिबाट १८ हजार ७५४ जनाको परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लामा गरी कूल तीन हजार १५० आरडिटी किट र ८११ भिटएम (भाइरल ट्रान्सपोर्ट मिडियम) मौज्दात रहेको जनाइएको छ ।

आइतबारसम्म प्रदेशका विभिन्न जिल्लामा गरी एक हजार ४०१ पुरुष र १५८ महिला गरी एक हजार ५५९ जना क्वारेन्टाइनमा राखिएका छन् । डोटी जिल्ला अस्पतालमा एक, सेती प्रादेशिक अस्पताल कैलालीमा चार, बझाङ जिल्ला अस्पतालमा आठ, बैतडी जिल्ला अस्पतालमा एक र बाजुरा जिल्ला अस्पतालमा तीन गरी १७ नागरिक आइसोलेसनमा भर्ना भएका छन् । 

सुदूरपश्चिम प्रदेशमा हाल कुनै पनि व्यक्ति कोरोना सङ्क्रमित नभएको मन्त्रालयले जनाएको छ । यसअघि प्रदेशभित्र देखिएका ५ सङ्क्रमित निको भएर घर गइसकेका छन् । यस्तै आइसोलेसनमा राखी सामान्य उपचारपछि १४७ जना घर फर्किसकेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!