सुदूरपश्चिमका नौ जिल्लामै कोरोना बिरुद्धको खोप शुरु

Posted on: 27 Jan, 2021

माघ १४, सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा आज कोरोनाविरुद्धको खोप अभियानको औपचारिक शुभारम्भ कार्यक्रम भइरहँदा अस्पतालकी प्रसूति विभाग प्रमुख यशोदा ढकाल खुशी देखिनुहुन्थ्यो । कोरोना महामारी आउँदा अग्रपङ्क्तिमा रहेर काम गरेको अनुभव लिनुभएकी ढकालले कोरोना खोप आउँदा आफू खुशी रहेको प्रतिक्रिया दिनुभयो । “कोरोनाको महामारीका बेला नडराएका हामीले खोप लगाउन पाउँदा डराउनुपर्ने कारण छैन”, उहाँले भन्नुभयो, “निवासबाट अस्पताल आउँनै लाग्दा छोरीले यो खोप आमाछोरीसँगै लागाऔँ, मरे पनि सँगै मरौँला भनिरहँदा आफूले सम्झाउँदा उनी सहमत भइन् ।”

क्षेत्रीय स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा गुणराज अवस्थीले नेपाल सरकारले यति छिटो कोरोनाविरुद्धको खोप भित्र्याई खोप अभियान शुरु गरेर राम्रो काम गरेको बताउनुभयो ।  उहाँले थप्नुभयो, “कतिपय विकासित देशले अझै कोरोनाविरुद्धको खोप अभियान शुरु गर्न सकेका छैनन्, नेपालमा यो अभियान शुरु हुन सक्नु उत्कृष्ट काम भएको छ ।”

सेती प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा डा अवस्थीले पहिलो खोप लगाई सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान शुरु गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट देशका सबै प्रदेशमा एकसाथ खोप अभियानको शुभारम्भ गरिरहनुभएको दृश्यतर्फ उपस्थित स्वास्थ्यकर्मी र अस्पतलमा उपचारका लागि पुगेका बिरामीले चासोका साथ हेरेका थिए । 

प्रदेशस्तरीय खोप अभियानको शुभारम्भ गर्नुहँुदै मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाविरुद्धको खोप आए तापनि यो रोगको जोखिमबाट सुरक्षित हुन अपनाउनुपर्ने सजगतामा अझै ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले अपनाउनुपर्ने सजकता र स्वास्थ्य मापदण्डहरु कायमै राख्न आवश्यक छ ।” सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्टलगायत सहभागी हुनुहुन्थ्यो ।

खोप अभियान शुरु भएसँगै कोरोना महामारीको बेला अग्रपङक्तिमा रहेर जिम्मेवारी बहन गरेका स्वास्थ्यकर्मी खुशी देखिँदा कतिपय महिला स्वयम्सेविकाहरु भने डराइरहेको देखिन्थे । “खोप लगाउँदा स्वास्थ्यमा हुन सक्ने जोखिमबाट कतिपय डराएका छन्, महिला स्वास्थ्य स्वयम्सेविका यशोदा भण्डारीले भन्नुभयो, “आफू पनि खोप लगाउने कि नलगाउने भन्नेमा अन्यौलमै छु ।” 

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन र नेपालको स्वास्थ्य सेवा विभागले स्वीकृत गरिसकेको यो ‘कोभिशिल्ड’ खोप ढुक्क भएर लगाउँन सकिने बताउनु हुन्छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम टरेको छैन । तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालानमा पछिल्ला महिनामा सर्वसाधरणबाट भइरहेको कमीकमजोरीले कोरोना सङ्क्रमणको जोखिम नहटेको चिकित्सकले बताउनुभएको छ । समाजिक विकास मन्त्रालयले प्रदेशको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, डडेलधुरा अस्पताल र सम्पूर्ण जिल्ला अस्पतालवाट प्रदान गर्ने गरी दश वटा खोप केन्द्रको व्यवस्था गरिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशका लागि पहिलो चरणमा खोप लगाउन ३६ हजार खोपको मात्रा प्राप्त भएको छ । पहिलो चरणमा कोभिड—१९ को उपचार व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, शव व्यवस्थापनमा खटिनेलाई यो खोप दिइने भएको छ । खोपबाट हुन सक्ने सम्भावित असरको व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा चिकित्सकसहितको टोलीको व्यवस्था गरिएको छ ।

प्रदेशमा कोरोना भाइरसबाट आजसम्म १३ हजार ९५६ जना सङ्क्रमित पुग्दा यो रोगविरुद्धको खोप अभियान शुरु गरिएको छ । मन्त्रालयका अनुसार आजसम्म कोरोना भाइरसका शङ्कास्पद एक लाख ३५ हजार २८४ को नमूना परीक्षण भइसकेको छ भने १२ हजार ५७८ सङ्क्रमित उपचार व्यवस्थानपछि घर फर्किनुभएको छ । प्रदेशमा अहिलेसम्म ५५ जना सङ्क्रमितको मृत्यु भएको छ । होम आइसोलेशन र प्रदेशबाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । प्रदेशमा कोरोना सङ्क्रमणका शङ्कास्पद नमूना सङ्कलनमा कमी आउँदा सङ्क्रमित बिरामी घट्दै गएका छन् । 

लक्षण देखिएको व्यक्ति र सङ्क्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना सङ्कलनमा पहिलेको भन्दा कमी आएको स्वास्थ्यकर्मीको भनाइ छ । कोरोनाको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ ।

अमरगढी नगरप्रमुखले लगाए खोप

अमरगढी– डडेल्धुरा अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले डडेल्धुरामा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएर कोरोना खोप अभियानको शुभारम्भ गर्नुभएको छ । अमरगढीका नगरप्रमुख ओझाले आज बिहान डडेल्धरामै पहिलोपटक कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । कोरोनाविरुद्धको सुरक्षित खोप लगाउनका लागि डराउनु पर्दैन भन्ने सन्देश दिनका लागि आफूले डडेल्धुरामा शुरुमै खोप लगाएको उहाँले बताउनुभयो ।

नेपाल सरकारलाई भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख कोभिशिल्ड नामक खोप डडेल्धुरामा एक हजार २६० प्राप्त भएको छ  । पहिलो चरणमा आज स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीलाई दिइँदै छ । डडेल्धुरामा आजदेखि शुरु गरिएको कोरोना खोप अभियानअन्तर्गत आज अहिलेसम्म ५० जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख आशुतोष श्रेष्ठले बताउनुभयो । खोप अभियान आज जिल्ला सदरमुकाम अमरगढी १५ गते गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिका, १६ गते अजयमेरू गाउँपालिका र भागेश्वर गाउँपालिका, १७ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिका र १८ गते छुटपुट सबै जनालाई जिल्ला सदरमुकाममा लगाइने स्वास्थ कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो  । खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुन सक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता सामान्य असर देखिने उनले बताउनुभयो  ।

कञ्चनपुरमा पहिलो मेडिकल सुपरिटेन्डेन्टलाई

कञ्चनपुरका कोभिड–१९ विरुद्धको पहिलो खोप आज बिहान महेन्द्रनगरस्थित महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठलाई लगाइएको छ । यहाँ आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुरुआतका क्रममा श्रेष्ठलाई पहिलो खोप दिइएको हो । त्यसपछि स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार र अन्य स्वास्थ्यकर्मीले पनि खोप लगाएका छन् ।

खोप अभियान शुभारम्भ कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कोरोना कहर न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । “गत वर्षदेखि हामी कोभिडसित लडिरहँदा सबैलाई खोप तथा उपचार कहिलेबाट हुन्छ भन्ने थियो”, नगरप्रमुख विष्टले भन्नुभयो, “यो खोप अभियानमा हामी सबै अभिनेता भएर लाग्नुपर्नेछ ।”

त्यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले खोपका विषयमा अपवाह फैलाइएजस्तो कुनै बेफाइदा नरहेको बताउनुभयो । “पहिलो चरणमा हामी माघ २४ गतेसम्म जिल्लामा रहेका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप लगाउने छौँ”, उहाँले भन्नुभयो, “एकाधलाई सामान्य रियाक्शन देखिए पनि त्यसलाई सामान्यरुपमा लिन आग्रह गर्छु ।”

आजदेखि यहाँ शुरु भएको खोप अभियानअन्तर्गत महाकाली अस्पतालका स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालय र विभिन्न पालिकाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालयको भनाइ छ । कञ्चनपुरमा मङ्गलबार दुई हजार ८२० मात्रामा खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट आएको थियो ।

खोप अभियान शुभारम्भ कार्यक्रममा कञ्चनपुरका प्रजिअ रामुकुमार महतो, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, नेपाली सेनाको सिंहशादूर््ल गुल्मका निमित्त गुल्मपति सहसेनानी अभय खड्कालगायतको सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा सरकारले यहाँ कोभिड–१९ विरुद्धको १६ हजार मात्रामा खोप पठाएको छ ।

नौ जिल्लामै  खोप शुरु

 सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको छ । सुदूरपश्चिम प्रदेशभरिमा आज ११ बजेबाट उक्त अभियान शुरु भएको हो । भारत सरकारको सहयोगमा ल्याइएको सो खोप पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डोटीका फ्रन्ट लाइनमा काम गर्ने एक हजार ५२६ जना स्वास्थ्यकर्मी, कर्मचारीलगायतकालाई लगाउने योजनानुसार शुभारम्भ गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो चरणको खोप जिल्ला अस्पतालमा स्थानीय तहअनुसार पालैपालो लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । कम्तीमा पनि छ दिनभित्र पहिलो चरणको खोप लागाइसकिने योजना रहेको छ । 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार प्रदेशका नौवटै जिल्लाका लागि कूल १६ हजार २९३ जनालाई पुग्ने ३६ हजार डोज खोप ल्याइएको बताइएको छ । पहिलो चरणमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई निःशुल्करूपमा खोप लगाइनेछ । शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइने छैन् ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार पहिलो दिन स्वास्थ्य कार्यालयमा कार्यरत २३, जिल्ला अस्पतालमा कार्यरत ७५, प्रहरी अस्पताल दिपायलमा कार्यरत ३५, सुजङ्ग अस्पताल राजपुर, शैलेश्वरी अस्पताल पिपल्लालगायत अन्य निजी अस्पताल कार्यरत ९८ गरी २३१ जनालाई खोप लगाइनेछ । १५ देखि १९ गतेसम्म सबै पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई क्रमशः खोप लगाइनेछ ।

सरकारले आपत्कालीन कोरोना खोप दिन शुरु गरेसँगै कैलालीमा पनि अभियानको प्रारम्भ गरिएको  छ । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढी र टीकापुर अस्पतालबाट खोप अभियानको प्रारम्भ गरिएको हो ।

टीकापुर अस्पतालमा चिकित्सक गौरी रिजालले पहिलो कोरोनाको  खोप लिनुभएको छ । कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशिपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई टीकापुर अस्पतालबाट खोप दिइनेछ भने अन्य स्थानीय तहका स्वास्थ्यकर्मीलाई सेती प्रादेशिक अस्पतालबाट खोप दिने व्यवस्था गरिएको छ । एक सय २४ जनाका लागि खोप उपलब्ध भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका रामराज पन्थीले जानकारी दिनुभएको छ । उहाँले स्वास्थ्यको क्षेत्रमा रही अग्रस्थानमा काम गर्ने स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।  “आजबाट शुरु भएको अभियान १८ गतेसम्म सञ्चालन हुनेछ । यो बीचको समयमा जति सकिन्छ हामी खोप लगाउँछौँ”, पन्थीले भन्नुभयो । 

टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले कोरोनाको कहर कम हुँदै गएको अवस्थामा विस्तारै  जनताको माझमा पनि खोप अभियान लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले कैयौँ देशले अझै कोरोनाको खोप पाउने र लगाउनेमा अन्योल रहेको समयमा सरकारको यो उपलब्धिलाई सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!