कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्ग खत्री बर्खास्त

Posted on: 16 Aug, 2019

साउन ३१, काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन् । उनलाई बैंकिङ कसुर अन्तर्गत पक्राउ पूर्जी काटिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका हुन् । संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हुन् ।

कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई उच्च अदालत पाटनले  मंगलबार ३ दिनभित्र अदालतमा पेश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको थियो ।


मन्त्री खत्रीलाई पक्राउ पूर्जी जारी भएपछि राजीनामा दिन दबाव दिइएको थियो । तर, राजीनामा दिन नमानेपछि पार्टीसँग छलफल गरी बिहीबार राति मुख्यमन्त्री शाहीले बर्खास्त गरेका हुन् ।

उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैंले सम्हाल्ने  प्रेस सल्लाहकार ध्रुव वुढाथोकीले जानकारी दिए । मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् भने राजुप्रसाद श्रेष्ठ फरार छन् ।

उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरे बैंकलाई हानी नोक्शानी पुर्‍याएको कृषि विकास बैंकको दाबी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!