कालिकोटका ६ स्थानीय तह अझै बैंकविहीन

Posted on: 17 Jul, 2018

साउन १, कालिकोट | गत वर्ष भदौंमा नेपाल राष्ट्र बैंकले स्थानीय तहमा राष्ट्रिय ‘क’ वर्गका बैंकका शाखा विस्तारका गर्न निर्देशन दिएको भएपनि कालिकोटका अधिकांश ६ वटा स्थानीय तहमा बैंकहरू शाखा स्थापना भएका छैनन् । कालिकोटका ३ वटा नगरपालिका ६ वटा गाउँपालिका रहेको कालिकोटमा ३ वटा स्थानीय तहमा मात्र बैंकहरू स्थापना भएका छन् ।

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा सानिमा बैंक, रास्कोट ग्लोबल आइएमई बैंकले शाखा स्थापना गरेको भए पनि अन्य ठाउँमा बैंकका शाखा स्थापना भएका छैनन् । स्थानीय तहमा बैंकहरूले सेवा विस्तार नगर्दा स्थानीय तहलाई राजश्व जम्मा गर्न र कर्मचारीको तलबदेखि उपभोक्ता समितिको भुक्तानी वितरणमा सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छैन ।  स्थानीय तहमा बैंकिङ सेवा उपलब्ध नहुँदा रकमको भुक्तानी लिन दुई दिन हिँडेर सदरमुकाम नै पुग्नुपर्ने बाध्यता रहेको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले बताए । ‘गाउँपालिकामा बैंक नहुँदा गाउँबाट हिडेर सदरमुकाममा आउनुपर्ने बाध्यता रहेको छ ।’ उनले भने, ‘गाउँमा नै बैंकको स्थापना भएको भए उपभोत्ता समिति र राजश्व लगायतका काम गर्न सजिलो हुने थियो ।’ स्थानीय तहमा बैंकहरू स्थापना नहुँदा सामान्य बैकिङ कारोबार गर्नका लागि सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।

‘बैंकहरूले राष्ट्र बैंकले दिएको निर्देशन नमान्दा बैंकहरूका शाखा स्थापना हुन सकेका छैनन् ।’ उनले भने, ‘गाउँमा बैंक नहुँदा निकै समस्या भएको छ ।’ बैंकहरू गाउँमा नहुदाँ सदरमुकामबाट करोडौं रुपैयाँ बोकेर गाउँ जानुपर्ने बाध्यता रहेको सुरक्षाको समस्या हुने गरेको तिलागुफा नगरपालिका लेखापाल नरदल बुढाले बताए । ‘सदरमुकामबाट करोडौं बोकेर गाउँमा जानुपर्छ ।’ उनले भने, ‘पैसा बोकेर गाउँमा जाँदा सुरक्षाको समेत समस्या रहेको छ ।’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!