तरकारी खेतीले जीवनस्तर फेरियो

Posted on: 08 Sep, 2018

भदौ २३, कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–६ निवासी रीश्मा शाहीको जीवन तरकारी खेतीले फेरिदिएको छ । परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आउनुभएकी शाहीले तीन वर्षयता मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेपछि उहाँको जीवनस्तर नै फेरिएको हो ।

तिला गुफा कृषि विकास शाखा कालीकोट र सेडा नेपालद्वारा सञ्चालित विकास परियोजनामार्फत मौसमी तथा बेमौसमी तरकारीखेतीसम्बन्धी तालीमसँगै ८० प्रतिशत अनुदानमा तरकारी बालीको बीउ र कृषि औजारसमेत कृषकलाई उपलब्ध गराएको थियो । तरकारी खेती गर्दा परिवारको खर्च, छोराछोरीको पढाइ खर्च चलाएर वार्षिकरुपमा करीब रु दुई लाख बराबर आम्दानी गर्न सकेको कृषक रीश्मा शाहीले बताइन् । ‘अन्नबाली लगाएपछि वर्षभरि परिवारलाई छाक टार्नै समस्या पर्छ’ उनले भनिन् ‘अहिले तरकारी खेती गर्दा पारिवारिक गुजरासंगै बजारसम्म तरकारी विक्री हुने गरेको छ ।’ बन्दा, काउली, काँक्रा, खुर्सानी, गोलभेंडा, भण्टालगायतका तरकारी खेती गरेको उनले बताइन् । एक पटकमा रु ६० हजार बराबर आम्दानी गर्ने गरेको उनको भनाई छ ।

प्लाष्टिक घरमा तरकारी लगाउँदा तापक्रम र पानीको मात्रासमेत मिल्ने भएकाले उत्पादन बढी हुने गरेको अनुभव उनीसँग छ । तिलागुफा नगरपालिका–६ गाल्जेका स्थानीय कृषक तरकारी खेतीमा सक्रिय भएका छन् । अन्नबालीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि यहाँका सबै कृषक तरकारी खेतीप्रति आकर्षित पाइएको छ । अर्का कृषक परेकबहादुर शाहीले पनि तरकारी खेतीबाटै वार्षिक रु डेढ लाख आम्दानी गर्छन् । अर्गानिक तरकारी खेती गरी मनग्य आम्दानी लिन सकिने भएपछि आफूले पनि मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेको उनले बताए । गाल्जेका स्थानीय कृषकले उत्पादन गरेको तरकारी गाल्जे बजार, नाग्मा बजार र जुम्ला खलङ्गा बजारसम्म पु¥याएर बिक्री वितरण गर्दै आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!