कालीकोटमा सडक निर्माणको काम द्रुत गतीमा

Posted on: 30 Dec, 2017

पुस १५, कालीकोट । कालीकोट जिल्ला स्युना, सिप्खाना जिल्ला सडक आयोजनाको काम द्रुत गतिमा सञ्चालन भइरहेको छ । 

कर्णाली करिडोरको सान्नीगाढलाई जिरो प्वाइन्ट बनाएर साबिकको सिप्खाना गाविसको सेराचौरसम्म जम्मा १८ किलोमिटर सडक निर्माण गरेको ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माणलाई द्रुत गतिमा लिएको छ ।

सडकको उद्घाटन तथा बेलायती राजदूत रिचार्ड मारेरिसको भ्रमण हुने भएपछि सडक निर्माणलाई गति दिन खोजिएको हो । सडक निर्माण अन्तिम चरणमा पुगेका बेला बेलायती राजदूतको भ्रमण हुने पूर्व सूचना आएपछि सडकलाई पूर्णता दिनका लागि रास्कोट नगरपालिका र ग्रामीण पहुँच कार्यक्रमले चासो दिएको छ । 

बेलायती जनताको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम तेस्रो चरणले निर्माण गरेको सान्नी सेराचौर सडकलाई आधिकारिक रुपमा रास्कोट नगरपालिकालाई हस्तान्तरण गर्नका लागि बेलायती राजदूत रिचार्ड मोररिस रास्कोट आउने भएका हुन् ।

उनले आफ्नो देशका जनताको सहयोगमा निर्माण भएको सडकको स्थलगत अनुगमन गर्ने र आधिकारिक रूपमा रास्कोट नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उनी जनवरी २९ तारिखका दिन काठमाडौंबाट प्रस्थान हुनु पूर्व सूचना आएको छ । यद्यपि पछि कार्यक्रमको सूचना फेरबदल पनि हुन सक्ने ग्रामीण पहुँच कार्यक्रमका इन्जिनियर तथा टिम लिडर रमेश खोताखोले बताए ।

बेलायती राजदूत रास्कोट आउने र सडक नगरपालिकालाई हस्तान्तरण गर्ने भएकाले सडकको निर्माणलाई जोड दिएको छ । गाडी गुडे पनि कतिपय ठाउँमा बाटो राम्रोसँग नबनेकाले राजदूत आउने मितिसम्म सडकलाई पूर्णता दिनका लागि ग्रामीण पुहुँच कार्यक्रमकका कर्मचारी र रास्कोट नगरपालिका कसिएर लागेको छ ।

डीएफ आईडीको ३२ करोड १ लाख ६ हजार २ सय ९५ लागतमा स्युना सिप्खानाको १ किलोमिटर सडक निर्माण हुनेछ । थोरै मात्र बाँकी रहेको सडकलाई माघको पहिलो सातासम्म पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको छ । काम पूरा हुने बित्तिकै माघ २० सम्ममा राजदूतको हातबाट सडकको औपचारिक उद्घाटन तथा नगरपालिकालाई हस्तान्तरण गरिने छ । त्यहाँसम्म बाटोलाई पूर्णता दिन नगर प्रमुख बरालले आफूले गर्ने काम समयमै गर्ने र बाँकी रहेका अन्य कामहरू गर्न ग्रामीण पहुँच कार्यक्रमलाई निर्देशनसमेत दिएका छन् ।

सडकको अन्तिम बिन्दु सेराचौर र त्यस आसपासका जग्गा विवाद मिलाउन वडा नम्बर २ का अध्यक्ष दयाराम सिम्खाडालाई भनिसकेको उनले बताए । उता वडा अध्यक्ष दयाराम सिम्खाडाले पनि सडकजस्तो विकासको पूर्वाधारलाई कसैले पनि अवरोध गर्नुहँुदैन भन्ने कुराको महŒव आफूले सबै जग्गा धनीलाई बुझाएकाले जग्गा विवादले फेरि कुनै झमेला नहुने उनको विश्वास छ ।

ग्रामीण पहँुच कार्यक्रमले रास्कोटमा १८ किलोमिटर र पचाल झरना गाउँपालिकाअन्तर्गत साबिकको राम्नाकोट जारकोटमा ५ किलोमिटर सडक निर्माण गरिरहेको छ । जारकोटको बाटो सम्पन्न हुन अझै १५ महिना लाग्ने जनाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!