रास्कोट नगरपालिकाले सडकको मापदण्ड तोक्यो

Posted on: 23 Jan, 2018

माघ ९, कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले नगरभित्रको सडकको मापण्ड तयार पारेको छ । 

रास्कोट नगरपालिकाका मेयर काशीचन्द्र बराललको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरभित्रको सडकको मापदण्ड तयार पारेको रास्कोट नगरपालिकाका प्रवक्ता टक्क फर्सालले जानकारी दिए । 

उनका अनुसार नगरभित्रका मुख्य सडकहरुको चौडाई १२ मिटर र सहायक सडकको चौडाई ८ मिटर अनिवार्य हुनुपर्ने नगरपालिकाले निर्णय गरेको छ ।

रास्कोट नगरपालिकाका मुख्य सडक र आसपासका सडकहरुको मापदण्ड मिचेर बनाईएका घर, टहराहरु तथा अन्य भौतिक संरचनाहरु हटाउने निर्णय समेत भएको छ । 

नगरपालिकाका प्रवक्ता फर्सालका अनुसार भिडिसेफ नेपालको सामाजिक परिचालनमा ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको शान्निघाट, स्यूना, सिपखाना १८ किलोमिटर सडकखण्ड यही माघ १७ गते नेपालका लागि वेलायती राजदुतको उपस्थितिमा नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको जानकारी गराउँदै उक्त कार्यक्रमलाई भव्यनिर्णय समेत गरेको छ ।

रास्कोट नगरपालिकाको क्षेत्रभित्र ग्रामीण पहुँच कार्यक्रमले कालिकोट जिल्लामै नमूना सडक निर्माण गरेको भन्दै यसले रास्कोट नगरपालिकाको राजनीतिक र आर्थिक विकासमा ठुलो सहयोग पुगेको उनले बताए । नगर कार्यपालिकाको बैठकले नगरको प्रवक्तामा रास्कोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष टक्क फर्साललाई तोकेको छ ।

बैठकमा नगरपालिकाभित्रका तीन वटै स्वास्थ्य संस्थाका व्यवस्थापन समिति विघठन गरी स्वास्थ्य चौकी स्यूनाको स्तरबृद्धि गरी यही माघ १५ गतेदेखी प्रयोगशाला सेवा पनि संचालन गर्ने निर्णय भएको छ । 

नवनियुक्त प्रवक्ता फर्सालका अनुसार नगरपालिकाभित्र रहेका सबै विद्यालयहरुमा शैक्षिक सुधारका लागि अनुगमनलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!