एक गाग्री पानी ल्याउन एक रातको बास

Posted on: 02 May, 2018

वैशाख १९, कालिकोट | नरहरीनाथ गाउँपालिका वडा नं. १ डिकेधारीका स्थानीय महिलाहरु एक गाग्री पानी भर्नकै लागि कुवामै रातभरी बास बस्न बाध्य भएका छन् । गाउँमा परापुर्वकालदेखीको खानेपानी आयोजना बिग्रिएपछि कुवाको पानीको भरमा रहेका स्थानीय महिलाहरु अहिले कुवामै पनि पानी सुक्न थालेपछि एक गाग्री पानी भर्न रातभरी कुवामै बास बस्न बाध्य भएका हुन् ।

सदरमुुकाम मान्मदेखी नरहरीनाथ गाउँपालिकाको कोटवाडा, कुमालगाउँ, रुप्सासम्म जाने बाटोमा पर्ने उक्त गाँउका स्थानीय नागरिकहरु अहिले खानेपानीको चरम अभावमा छन् । २०५२ सालमा त्यसै गाउका लागि निर्माण भएको सिमलपानी खानेपानी आयोजना बिग्रिएपछि गाँउमा खानेपानीको अभाव भएको स्थानीय गणेश बिष्टले बताए । उनले उक्त खानेपानी आयोजना मर्मतका लागि पटक पटक पुरानो साविकको गाविसबाट बजेट बिनियोजना गरेको भएपनि उपभोक्ता बनाएर काम नगरी बजेट सकाउदा बर्षेनी खानेपानीको समस्या भोग्नु परेको बताए ।

‘२०५२ सालमा बनेको सिमलपानी खानेपानी आयोजना मर्मत नहुँदा गाँउमा कुवाको पानी स्थानीयले खानुपर्ने समस्या छ’उनले भने, ‘कुवाकै पानी पनि एक गाग्र भर्नका लागि रातभरी कुर्वामा वास बस्नु पर्छ । गाँउका अधिकांश स्थानीय महिलाहरु पानी लिन जाँदा पालोपालो कुवामा बास बस्दै आएका छन् ।’ साविकको कोटवाडा गाविसका सलेपा तथा हाल नरहरीनाथ गाउपालिका वडा नं. १ का सलेपा उदयराम बिष्टले २०५२ सालमा बनेको सिमलपानी खानेपानी आयोजना दुई पटक मर्मत भएको बताए ।

उनले पहिले गाविसबाटै एक पटक ४ लाख र १ पटक दुई लाख बजेट विनियोजन गरेर मर्मत गरेपनि पुन बिग्रिए पछि खानेपानीको समस्या भएको बताए । उनले यसै आर्थिक बर्षमा पनि उक्त खानेपानी आयोजना मर्मतका लागि ६ लाख ५० हजार बजेट बिनियोजन गरिएको बताए । उनका अनुसार उक्त बजेट उपभोक्ता समिति गठन भएर काम अगाडि बढिरहेको छ ।

नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले आफुले सबै योजनाको अनुगमन गर्न नसकेकाले गाउँपालिका उपाध्यक्ष मनसोभा बुढालाई अनुगमनमा खटाएको बताउँदै तत्काल सिमलखोला खानेपानी आयोजना मर्मत गर्न नरहरीनाथ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष र गाउँपालिका उपाध्यक्षलाई भनेर उपभोक्ता समितिलाई ताकेता लगाउने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!