बालहितका सवालबारे यसो भन्छन् कालिकोटका जनप्रतिनिधि

Posted on: 05 Jul, 2017


दलसिंह गिरी/असार २१, कालिकोट । शिरमा नेपाली ढाका टोपी र काधमा ढाकाकै पछयौराले एकै साथ सजिएका कालिकोटका जनप्रतिनिधिहरुले स्थानीयतहमा बालहितका सवाल कार्यान्वयनका लागि आफुहरु प्रतिवद्ध रहेको बताउनु भएको छ । 

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, किर्डाक नेपाल कालिकोट र भिडिसेफ कालिकोटको संयुक्त आयोजनामा आयोजित परिचयात्मक एवं बधाई तथा सम्मान कार्यक्रममा आफ्नो धारणा राख्दै नव निर्वाचित जनप्रतिनिधिहरुले यस्तो बताउनु भएको हो ।

बालहितका सवालमा काम गर्दै आइरहेको सेभ द चिल्डे«न, र साझेदार संस्था किर्डाक नेपाल, भिडिसेफले जिल्लामा गरेका कामहरुको प्रशंसा गर्दै नव निर्वाचित जनप्रतिनिधिहरुले समाजमा बालहिंसा, बालविवाह, बालश्रम जस्ता विविध घटनाहरु समाजमा ब्याप्त रहेकाले यसको न्यूनिकरणका लागि आफूहरु कटिवद्ध भएर लाग्ने र यसका लागि नागरिक समाज बुद्धिजिवि सबैले साथ दिन आग्रह गर्नु भएको छ ।


यहि गएको बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जिल्लामा आफुले संचालन गरेका कार्यक्रम र भए गरेका गतिविधिको जानकारी गराउदै आयोजक संस्था किर्डाक नेपाल, भिडिसेफ तथा सेभ द चिल्डे«नले विगतका बालबालिकाको अवस्था, बर्तमान अवस्था, भैरहेका गतिविधि र आइपरेका चुनौतिबारे जनप्रतिनिधिहरुलाई क्रमश तुलारम पाण्डे, राजेन्द्र सहकारी, बाले विश्वकर्माले जानकारी गराउनु भएको छ ।

आयोजकले दिएको जानकारीलाई उठान गर्दै प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले गाउ तथा नगरका जनप्रतिनिधिहरुलाई स्थानीय तहको विकासका लागि दुरदृष्टि राख्न आग्रह गर्नु भएको छ । केही दिनमै गाउ तथा नगरमा बजेट तथा योजना तर्जुमा कार्यक्रम संचालन हुन गैरहेकोे बताउदै अब समुदायमा आधारित आधारभूत आवश्यकतामा रहि दुरदृष्टि योजना अगाडी बढाउन आग्रह गर्नु भएको हो ।

नव निर्वाचित जनप्रतिनिधि कुनै दल विशेषको नभै समग्र जनताको प्रतिनिधि भएकाले निर्देशनात्मक होइन समन्वयात्मक भूमिका खेल्न सुवेदीले विशेष जोड दिनु भएको छ । अबको विकास खर्चमुखी नभै लगानी तथा आम्दानी मुखिहुनु पर्ने भएकाले यसलाई दृष्टिगत गरी अबको ५ बर्ष जनमुखी, स्मरणयोग्य कार्यकाल बनोस् भन्दै शुभकामना समेत ब्यक्त गर्नु भएको छ ।


बालबालिका हामी सबैको सरोकार, बनाउदै जाऔं बालमैत्री स्थानीय सरोकार भन्ने मुल नाराका साथ सेभ द चिल्ड्रेनका जिल्ला संयोजक विजय विश्वकर्माको अध्यक्षता संसद सदस्य तुलाराज विष्टको प्रमुख आथित्यता, प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको विशेष आथित्यतामा आयोजित कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई नेपाली ढाका टोपी र ढाकाकै पछ्यौराले सम्मान गरिएको छ । 

यस्तै सम्मान कार्यक्रममा प्रमुख अथिति तुलाराज विष्ट, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नमराज योगी लगायतका नागरिक अगुवाहरुले नव निर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिनु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!