'हामी पुग्ने ठाउँसम्म पुगेका छैनौं, विश्राम मात्र लिएका छौँ' - प्रचण्ड

Posted on: 26 Sep, 2017

असोज १०, कालीकोट | (रासस): नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले परिकल्पना गरेअनुसारको नेपालमा राज्यव्यवस्था नआएको बताउनुभएको छ । 

माओवादी केन्द्र कालीकोटले आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “भारी बोक्दा थकाइ लागेपछि विश्राम गर्नुपर्छ त्यसरी नै अहिले हामी पुग्ने ठाउँसम्म पुगेका छैनौं, विश्राम मात्र लिएका छौँ ।” 

नेता प्रचण्डले देशमा ऐतिहासिक परिवर्तन गर्न कालीकोटको पिली र माल्कोटले खेलेको भूमिकाप्रति आभार प्रकट गर्दै क्रान्ति पूरा गर्न अझै साथ चाहिने बताउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा कर्णालीको विकासका लागि विशेष योजना बनाएको, नेपालमा शून्य दशमलव आठ प्रतिशतमा झरेको आर्थिक वृद्धिदर २५ वर्षपछि सात दशमलव ५ प्रतिशत बढेको, संविधान घोषणा र कार्यान्वयन, स्थानीय तहको निर्वाचन, ठूला राष्ट्रिय योजना कार्यान्वयन र विद्युत्भार कटौती अन्त्य जस्ता काम भएको बताउनुभयो । 

कर्णालीको प्राकृतिक सम्पदा, जल, जमीन र जडिबुटीको उचित प्रयोग गर्दै चीनसँग जोडिएको क्षेत्रका नाका खुला गर्न र सडक आयोजना सञ्चालनका लागि विशेष योजना तय भएको जानकारी दिँदै उहाँले नाक्चे नाँग्ला र हिल्सा नाका खुलेमा यहाँका बेरोजगार युवाले रोजगारी पाउने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!