निर्वाचित उम्मेद्वार घरदैलोमा, बाचा नभुल्न मतदाताको आग्रह

Posted on: 16 Dec, 2017

पुस १, कालिकोट । भखर्रै सम्मन्न प्रतिनीधि सभा तथा प्रदेशसभाका निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिन घरदैलो अभियानमा जुटेका छन् । 

उनी बिहानैदेखि मतदाताको घरदैलोमै पुगेर बधाई तथा सम्मान थापिरहेका हुन् । प्रतिनीधिसभा बिजयी भएका माओवादी केन्द्रका नवनिर्वाचित सांसद दुर्गाबहादुर रावत, प्रदेशसभा ‘क’ सांसद कुर्मराज शाही अहिले मतदातासँग घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् भने प्रदेश नं. ६ मुख्यमन्त्री दावी गरिरहेका महेन्द्रबहादुर शाही निर्वाचित भए लगत्तै पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका र पलाता गाउँपालिकामा तीन ठाउँमा मतदातासँग कार्यक्रम गरेर काठमाडौं लागेका छन् ।

निर्वाचन अघि घरदैलो सकेका उनीहरुले अहिले पनि कार्यतालिका नै बनाएर मतदाताको घरदैलोमा पुगिरहेका स्थानीयसँग राय सल्लाह सुझाव लिन लागेको नवनिर्वाचित प्रदेशसभाका सांसद कुर्मराज शाहीले बताए । ‘हामी जनताबाट चुनिएर आएका छौं ।’ उनले भने, ‘उहाँहरुको आवश्यकता राय सल्लाह र सुझाव लिन व्यस्त रहेका छौं ।’

आफूलाई मत दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा गएर वहाँहरुलाई धन्यवाद दिने र मतदाता आर्शिवाद लिने काम भइरहेको प्रतिनीधिसभाका सांसद दुर्गबहादुर रावतले बताए । ‘हिजोका दिनमा मत माग्दै जहाँ–जहाँ गइयो । 


अहिले त्यही ठाउँका मतदातासँग पुगेर आर्शिवाद लिने धन्यवाद दिने कार्यक्रममा व्यस्त छु’ उनले भने, ‘निर्वाचनमा मैले गरेको बाचा पुरा गर्न जनताबाट सल्लाह लिने काम गरिरहेको छु ।’

प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित उम्मेदवार पनि अहिले मतदाताहरुको घरदैलोमा पुगेका छन् । आफुहरु पराजित भएपनि मतदाताहरुले आफुलाई मत दिएका कारणले धन्यवाद दिन गाउँगाउँमा पुगेका हुन् । 

जनताहरुको मतले जित्न नसकेपनि जनताहरुको मन जित्नका लागि अहिले आफुलाई मत दिन जनताको घरदैलो अभियानमा रहेको नेपाली कांग्रेस प्रतिनीधिसभाका उम्मेदवार भुपेन्द्रजंग शाहीले बताए । ‘मलाई मतदाताहरुले मत दिएका हुन् । मैले तर, जित्न सकिनँ’ उनले भने, ‘मतले जित्न नसके पनि अहिले म जनताहरुको मन जित्न गाउँमा नै छु ।’

गाउँगाउँ पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले मत माग्दा गरेका बाचा नभुल्न आग्रह गरेका छन् । जहिले पनि मत माग्दा विकास, समृद्धिका कुरा गर्ने र जितेर गएपनि त्यो कहिल्यै पुरा हुने नभएका कारणले निर्वाचित सांसदहरुलाई चुनावमा गरिएका बाचा नभुल्न आग्रह गरेका हुन् । 

सधै नेताहरुले एउटै कुरा मात्र गर्ने बिजयी भएपनि त्यसलाई भुल्ने गरेकोले अहिले गाउँ गाउँमा रहेको सांसदहरुलाई चुनावमा गरेको बाचा नभुल्न पचालझरना गाउँपालिका वडा नं. ६ का स्थानीय पटकबहादुर शाहीले आग्रह गरे । 

‘चुनावमा नेताहरुले जनतालाई समृद्धि विकासको आधार देखाउँदै मत मागेका थिए’ उनले भने,‘त्यसलाई नुभल्न हामी नवनिर्वाचित सांसदलाई आग्रह गर्दछौं ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!