लाखौ खर्चेर कालिकोटका जनप्रतिनिधीहरु भ्रमणमा

Posted on: 18 Mar, 2018

चैत ४, कालीकोट  | आर्थिक बर्ष सकिन ४ महिना मात्र बाँकी रहँदा कालीकोटका विभिन्न स्थानीय तहका कर्मचारीसहित जनप्रतिनिधीहरु अन्य जिल्ला भ्रमणमा निस्किए पछि स्थानीय तहको काम प्रभावित भएको छ । स्थानीय तहमा हुने गाउँका बिकास योजनाहरुको सम्झौता गर्नु पर्ने चटारो भएका बेला स्थानीय तहका कर्मचारी र जनप्रतिनिधी सरकारी बजेटमा भ्रमणमा निस्किएका हुन् ।

अध्ययन भ्रमण भन्दै स्थानीय तहले लाखौ रुपैयाँ खर्च गरेर भ्रमण गरेका छन् । शुभ कालिका गाउँ पालिकाका अध्यक्ष सहितको जम्बो टोली गाउँपालिकाको २० लाख रुपैयाँ लिएर अवलोकन भ्रमणमा गए पछि स्थानीयले बिरोध गरेका छन् । सरकारी कर्मचारीसहित जनप्रतिनिधिको जम्बो टोली भ्रमणमा हिँडेपछि गाँउपालिकाको दैनिक महत्वपूर्ण सेवा प्रवाहको कार्य रोकिएको स्थानीय भिमप्रसाद आचार्यले बताए । उनले आफ्नो गाउँठाउँको आधारभुत विकासका लागि जम्बो टोलीको भ्रमण आवश्यक नरहेकाले भ्रमणले गाउँपालिकाको विकासे रकम दुरुपयोग भएको औल्याए ।

अवलोकन भ्रमणको नाममा गाउँपलिकाका जिम्मेवार पदमा रहेका सबै प्रमुखहरू स्थानीय तहको रकम लिएर घुम्न गएको उनको आरोप छ । गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले शुभकालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले अवलोकन भ्रमणमा निस्केको बताए । उनले अन्य जिल्लाका विकाका काम कसरी भईरहेका छन्, बजेट विनियोजन कसरी र कुनकुन शिर्षकमा छुट्याईएको छ अन्य स्थानीय तहको अवलोकन गरि राम्रा कुराहरुलाई आफ्नो गाउँपालिकामा लागु गर्नका लागि अवलोकन अनुसरण भ्रमणमा गएको बताए ।

खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी पनि अवलोकन भ्रमणमा गएका छन् । २९ जनाको टोलीसहित पोखरा, पाल्पा, लुम्बिनी लगायतका क्षेत्रमा भ्रमण गर्नका लागि खाँडाचक्र नरपालिकाको नगरसभाबाट ५ लाख रुपैयाँ छुट्याइको खाँडाचक्र नगरपालिकाका कायकारी अधिकृत काशि पंगेनीले बताए । उनले आफु काम विशेषले भ्रमणमा जान नपाएको र जनप्रतिनिधिहरु भ्रमणमा गएकाले यर्थाथ कति खर्च हुन्छ भन्ने एकीन नभएको जानकारी दिए ।

पछिल्लो समय जनप्रतिनिधिको ध्यान विकास नभई बजेट खर्च गर्नेतर्फ मात्र गएको स्थानीयको गुनासो छ । ‘कर्मचारी अभाव, पूर्वाभार अभावजस्ता कुराले स्थानीय तहका काम प्रभावित भइरहेका बेला यसरी भ्रमणमा जानु विकाशबजेट रित्याउने काम भएको स्थानीयले गुनासो गरेका छन् । सिक्ने अवस्थामा रहेका स्थानीय तहले भ्रमणमा जानु उपयुक्त हो तर अहिलेको समयमा राज्यकोषबाट ठूलो रकम खर्च गरेर भ्रमणमा जानु राम्रो नभएको तिला कर्णाली बहुमुखी क्याम्पसका स्ववियु सचिव मोहसिंह शाहीले बताए । नगरपालिकाका वडा अध्यक्ष कार्यपालिका सदस्य भनेपनि अन्य व्यक्तिलाई लिएर भ्रमणमा गएकाले यो उपयुक्त नभएको उनको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!