कालिकोटमा चार दिनदेखि विद्युत अवरुद्ध

Posted on: 11 Sep, 2018

भदौ २६, कालिकोट | चारदिन अघिदेखि विद्युत् अवरुद्ध हुँदा कालिकोटको सदरमुकाम मान्मबजार अन्धकार भएको छ । सदरमुकाम मान्मदेखि करिब १३ कोष पश्चिममा रहेको सान्नीगाड पोतमारा विद्युतगृह बन्द हुँदा विद्युत् सेवा अवरुद्ध भएपछि कालिकोट अन्धकार भएको हो ।

सान्निगाड विद्युतगृहको पावरहाउसमा समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति बन्दका कारण साविकको मुम्रा, रास्कोट, मेहेलमुडी, मान्मलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । विद्युतकै कारण सञ्चारमाध्यम, मोबाइल सेवा पनि बन्द भएको छ भने सदरमुकाममा रहेका एफएम रेडियोले पनि आफ्नो प्रशारण अवधि घटाएका छन् ।

भदौ २२ गतेदेखि अवरुद्ध भएको विद्युत जिल्लामा रहेको प्राविधिक टोलिले मर्मत गर्न नसकेपछि अझै सुचारु हुन सकेको छैन् । विद्युत प्राधिकरण शाखा कालिकोटका कर्मचारी लोकेन्द्रजंग शाहीले जिल्लामा भएको म्यानपावरले बनाउन नसकेपछि बुटवलबाट प्राविधिक टोलीबोलाइएको बताए । बुटवलबाट प्राविधिक आएर पोतमारामा पुगेर बनाउन समय लाग्ने जानकारी दिए ।

पोतमारा साना लघुजलविद्युत गृहको पावर हाउसमा समस्या आएकाले बनाउन नसकिएको उनले बताए । उनका अनुसार अझै कालिकोटमा विद्युत बन्न ४ दिनभन्दा बढी लाग्ने भएको छ । विद्युत् आपूर्ति बन्दका कारण कालिकोटबासी अन्धकारमा बस्न बाध्य भएका छन् ।

सरकारी कार्यालयमा कामका लागि टाढाबाट सदरमुकाम मान्म आएका सेवाग्राही पनि विद्युत् बन्दको मारमा परेका छन् । सान्निगाड पोतमारा विद्युत् आयोजनाले ०६५/०६६ मा विद्युत् उत्पादन गरि विद्युत् सेवा दिँदै आइरहेको भएपनि विचविचमा कालिकोट अन्धकार हुने गरेकोमा स्थानीय नागरिकले दुखेसो पोखेका छन् ।

विद्युत सेवा अवरुद्ध भएपछि जिल्लाको स्वास्थ्य, शिक्षा, सञ्चार लगायतका क्षेत्रहरु प्रभावित भएका छन् । जिल्ला अस्पतालमा एक्सरे मेसिन भएपनि विद्युत नभएका कारण जेनेरेटरबाट काम गर्नुपरिरहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!