सडक विस्तारले निम्त्याएको आश, ढुंगा खस्ने डरले गाउँको उठीबास

Posted on: 17 Feb, 2019

दलसिंह गिरी | फागुन ५, कालिकोट | ढुंगा खस्ने डरले पुरै गाउँ त्रसित बनेको छ । ग्रामिण सडक विस्तारको शिलशिलामा डोजर मार्फत सडक विस्तार गर्नेक्रममा पखेरामा रहेको ढुंगाको फेदबाटै सडक खन्दा ढुंगाले आफ्नो स्थान छाड्न थालेपछि गाउमा आउने डरले पुरै गाउँ त्रसित बनेको हो । 

ढुंगा खस्ने डरले सान्नीत्रिबेणाी गाउँपालिका वडा नं. १ र २ रहेको सेरिज्यूलागाउँको उठीबास भएको छ । सडक निर्माण संगै ३ दिन देखि लगातार आएको अविरल बर्षाका कारण ढुंगामनीको माटो भासिन थालेपछि ढुंगाले आफ्नो स्थान छाड्न थालेको छ । 

ढुंगाका खस्ने डरका कारण गाउँ नै जोखिममा रहेको खबर पछि शनिबार प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्की, जिल्ला प्रहरी कार्यालय प्रमुख बिनोद शर्मा, गाउपालिका प्रमुख डम्बर शाही र उपप्रमुख होइजा बुढा (गिरी) सहितको टोलीले यसको यथार्थता अवलोकन गरी सुरक्षित रहन स्थानीयलाई आग्रह समेत गरेका छन् । 


पखेराबाट आफ्नो स्थान छाडेको ढुंगा अत्यधिक ठुलो भएको र यो खस्ने सम्भावना प्रवल रहेकाले तत्काल बिस्फोट गरी टुक्राउन गृहमन्त्रालयलाई आवश्यक प्रविधि सहितको ब्यवस्थापनका लागि निवेदन गरिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताएका छन् । 

हाल उक्त ढुंगा गाउँमा पस्ने त्रासका कारण, बटाला बस्ती दलित बस्ती र गिरी बस्ती गरी करिव २ सय घर धुरीका परिवारहरु आफ्नो घर छाडी सुरक्षित स्थानमा रात विताउन बाध्य भएका छन् । 

हुम्ला कर्णाली करिडोरको रेगिल सडक खण्डबाट सान्नीत्रिबेणी गाउपालिकामा विस्तार गरिने ग्रामिण सडक आयोजना अन्तरगत हाल डोजर मार्फत वडा नं. २ मा सडक विस्तार भैरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!