ऊ बेला पुच्छरमा देखिने पालाता क्षेत्र पछिल्लो चरण अब्बल बन्दै

Posted on: 20 Apr, 2019

दलसिंह गिरी । बैशाख ७, कालिकोट । जिल्लामा रहेका स्थानीय तहरुको समग्र विकासको अवस्था सूचिको पुछारमा देखिने पालाता क्षेत्र पछिल्लो चरण अब्बल बन्दै गएको छ । स्थानीय तहको निर्वाचन पश्चात चुनिएका नयाँ जनप्रतिनिधिहरुको क्रियाशिलता र विकास संग सरोकार राख्ने निकायहरुको सक्रियताले विकासमा अब्बल बन्दै गएको हो । 

संघको स्थानीय विकास मन्त्रालय र कर्णाली प्रदेश सरकारले समेत प्रशंसनीय प्रगति गरेको भन्दै प्रशंसा गरेको पलाता गाउँपालिका अहिले गाउपालिकाका पुरै बस्तीहरुमा विद्युत पहुँच पुर्याउने लक्ष्य लिई अभियान अन्तिम चरणमा पुर्याएको छ ।  


करिव २ हजार ७ सय घरधुरी रहेको पलाँता गाउँपालिकाले यसै वर्ष पलाँताका सबै घरधुरीमा विद्युत सेवा पुर्याउने भएको छ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा गाउँपालिकाले विद्युत सेवा पलाँताका सबै घरधुरीमा पुर्याउने भएको हो ।

गाउँपालिकाले आफ्नै भु–क्षेत्रमा ५ वटा लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याई करिव २ सय ३० किलोवाट विद्युत उत्पादन गरी विद्युत सेवा बिस्तार गरिरहेको छ । पलाँता विकास निर्माण कार्यदल परिचालन गरी गाँउपालिकाले विद्युत सेवा विस्तार गरिरहेको हो ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले यसै वर्ष विद्युत घर–घरमा पुर्याउने लक्ष्य अनुसार विद्युतमा मात्र ८० जनाको विकास निर्माण कार्यदल खटिएको बताएका छन् । गाउँपालिकाले पालिका स्तरमा छुट्टै उर्जा शाखा स्थापना गरी मर्मत सम्भार कोषको व्यवस्थापन समेत गरेको बमले बताएका छन् ।

स्थानीय उपभोक्ता समितिको अगुवाइमा कार्य सञ्चालन गरिएको विद्युत सेवा बिस्तार अभियान स्थानीय जनराज बम, कर्मसिह बुढा र कलबहादुर बमलाई प्रमुख जिम्मेवारी दिईएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताएका छन् ।

पलाताका प्रमुख ५ लघुजलविद्युत आयोजना

दुर्सिखोला लघु जलविद्युत आयोजनालाई पलाँताको सबैभन्दा ठूलो लघु जलविद्युत आयोजनाको रुपमा लिईएको छ । १ सय किलोवाट क्षमताको उक्त आयोजनाबाट पलाँताका १, २, ३, र ८ नं. वडाका सबै घरधुरीमा विस्तार भइहरेको छ । यस्तै २१ किलोवाट उत्पादन क्षमता भएको दाम्रीगाड लघु जलविद्युत आयोजना वडा नं. ९ का सबै घरधुरीमा बिद्युत सेवा बिस्तार भैसकेको छ । ७० किलोवाट उत्पादन क्षमता भएको औलाखोला लघु जलविद्युत आयोजना वडा नं. ४, ५ र ६ का सबै घरधुरीमा विस्तार भएको छ । यस आयोजनाको ७० किलोवाट विद्युत उत्पादन भैरहेपनि हाल ३० किलोवाट मात्र खपत भैरहेको वडा नं. ४ का अध्यक्ष ऐनराज महताराले बताएका छन् ।  

यस्तै ३५ किलोवाट क्षमता भएको घुचिखोला लघु जलविद्युत आयोजना वडा नं. ७ का दुर्सि, दैनिकर र फागोटीका बस्तीमा विस्तार भैरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । लेकालिभेगमा मौसमी बस्तीका रुपमा बसोबास गर्ने बासिन्दाहरुका लागि ४ किलोवाट क्षमता भएको तलसेरी मेट्रोहाइडो आयोजना संचालन गरी करिव २ सय मौसमी बस्तीहरुमा बत्ती बाल्ने अभियान जारी रहेको गाउँपालिकाका प्रवक्ता मानबहादुर भण्डारीलबताएका छन् । बर्षाको समयमा यहाँका किसानहरु स्याउ, आरु, नास्पती, आलु, सिमी लगायतका बालीहरु कुर्न लेकतिर बसाइ सार्ने गर्दछन् उनीहरुलाई लक्षित गरी यो आयोजना अगाडी बढाईएको भण्डारीले बताएका छन् । 

पलाँता समृद्धिका ५ महत्वपूर्ण कार्यको थालनी

गाउँपालिकाले पलाँता समृद्धिका लागि ५ महत्वपूर्ण कार्यको थालनी गरेका छ । घर–घरमा शुद्ध खानेपानी, सबै वडामा सडक, एक टोल एक बगैचा, प्रत्येक वडामा सामुदायिक स्वास्थ्य इकाई र सबै घरमा उज्यालो ।

‘यी सबै कार्यहरु ५ वर्ष भित्र पूरा हुन्छन्, हामीले त्यही स्पिरिटमा काम गरिरहेका छौँ, हामीलाई प्रदेश सरकारको समेत महत्वपूर्ण सहयोग छ,’ गाउँपालिका अध्यक्ष बमले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!