राम्नाकोटमा घरको छाना खरमुक्त बनाइने

Posted on: 07 May, 2019

बैशाख २४, कालिकोट । यहाँको पचालझरना गाउँपालिकाले राम्नाकोटलाई खरको छानोमु्क्त बनाउने भएको छ । पचालझरना गाउँपालिकाको वडा नं. ४ राम्नाकोटका घरहरुमा गाउँपालिकाले जस्तापाताको छानो बनाउने भएपछि स्थानीय खुशी भएका छन् । खडेरीमा हुन सक्ने आगलागीलगायतका प्राकृतिक प्रकोपहरूबाट बच्न गाउँका घरहरु खरमुक्त बनाउन लागिएको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

‘आगलागी लगायतका सम्भावित प्राकृतिक विपद्हरूबाट जोगिनका लागि कालीकोटको पचालझरना गाँउपालिकामा खरमुक्त छाना अभियानको शुरू गरिएको हो,’ उनले भने, ‘गाँउपालिकामा रहेका घरहरूमध्ये ७५ प्रतिशत घरहरू खरले छाएको अवस्था छ । २३ सय घरधुरीमा १६ सय घरधुरी खरले छाएको हामीले पाएका छौं ।’ गाँउपलिकाको वडा–४ बाट छाना परिवर्तन गर्ने योजना शुरूआत गर्न लागिएको अध्यक्ष सेजुवालको भनाइ छ ।

राम्नाकोटका ४० घरलाई टिनको छानाबाट छाउने शुरूआत गरिने उनले बताए । ‘आगामी पाँच वर्षभित्र गाउँपालिकामा खरको छानो मुक्त बनाउने योजनाका साथ हामी अघि बढेका छौं’ उनले भने । चालु आर्थिक बर्षमा उक्त कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए । ‘हामीले समिति समेत बनाएर पाता खरीद प्रक्रियाको शुरूआत गरिसकेका छौं,’ अध्यक्ष सेजुवालले भने, ‘आगामी जेठ भित्रै हामीले सबै घरमा टिनको पाता लगाइसक्ने गरी अभियानको शुरूआत गरेका हौं ।’

गाउँपालिकाले घर।रको छानामा जस्तापाता लगाइदिने भए पछि स्थानीय जना सेजुवालले खुशी लागेको बताईन् । ‘बर्षौदेखि खरको छानोमुनि बस्दै आएका थियौं,’ उनले भनिन्, ‘अब चम्किला घरमा बस्न पाउने व्यवस्था सरकारले मिलाउने भयो ।’ सोही गाउँपालिकाका दानबहादुर बमले खरको छानोबाट आगलागिको खतरा भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!