कर्णाली प्रदेश पर्यटकमैत्री हुन्छः मुख्यमन्त्री शाही

Posted on: 18 Apr, 2018

वैशाख ५, कालिकोट | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई पर्यटकमैत्री प्रदेशका रुपमा बिकास गर्ने बताएका छन् । मुख्य मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका शाहीले कर्णालीको बिकासका लागि पर्यटन प्रबद्र्धन जरुरी भएको बताए । आफ्नै गृह गाउँपालिकाले आयोजना गरेको प्रथम पचालझरना साँस्कृतिक तथा पर्यटन महोत्सवको समापन गर्न मुख्य मन्त्री शाही कालिकोट आएका थिए ।

नयाँ बर्षको सुरुवातसंगै बैशाख १ गतेदेखी ५ गतेसम्म चलेको पचालझरना साँस्कृतिक तथा पर्यटन महोत्सवमा उनले कर्णाली प्रदेशका विकट गाउँहरु सबै होमस्टेका रुपमा विकास गर्ने, यस प्रदेशमा रहेका धार्मिक तथा ऐतिहाँसिक पर्यटकीय क्षेत्रको विकास गर्ने बताए । महोत्सव समापन गर्दै मुख्य मन्त्री शाहीले गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर भएको भन्न भने छुटाएनन् । ‘अहिले कर्णाली एनजिओ र आइएनजिओका कारण परनिर्भर बन्दै गएको छ’ उनले भने, एनजिओको परनिर्भरता घटाउन स्थानीय उत्पादन प्रबद्र्धन गर्न जरुरी छ ।’ उनले कृषि उद्यममा अनुदानको व्यवस्था, पशुपालन व्यवसायलाई सरकारी जागिर सरह सरकारले अनुदान तथा प्रबद्र्धन, औधोगीकरणमा जोड दिने बताए ।


मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि सरकारले प्रयाप्त बजेटको व्यवस्था गर्न लागेको बताए । कर्णाली प्रदेश सरकारले यस बर्ष रारा कर्णाली पर्यटन बर्षको घोषणासँगै कर्णाली प्रदेशको सम्मृद्धिको ढोका खोलेको उनको भनाई छ । उनले अहिले मुलुककै सबै भन्दा विकट, गरिब र दुर्गम प्रदेशका रुपमा चिनिरहेको कर्णाली प्रदेशलाई आफुले पाँच बर्षभित्र मुलुककै नमुना प्रदेशका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । आफ्नो गृह गाउँपालिका समेत रहेको पचालझरनाको महोत्सवमा उनले पचालझरनालाई संसारभर चिनाउनका लागि पर्यटन विभागमा अभिलेखका लागि तत्काल पहल गर्ने बताए ।

पचालझरनाको प्रचार प्रसारका लागि पाँच दिनसम्म आयोजना गरिएको महोत्सवमा उनले कालिकोटका हरेक डाँडाकाडाहरु पर्यटकको पर्खाईमा रहेकोले त्यहाँ जाने भौतिक पुर्वाधारको विकासलाई प्राथमिकता दिने र कर्णालीमा बगिरहेको सितो डलरको सदुपयोग गर्न विद्युत उत्पादनमा जोड दिने बताए । उनले कर्णाली प्रदेश अब अर्गानिक प्रदेश र सुचनामैत्री प्रदेश बनाउने बताए । अहिले भारतको रुपैडियाको विषादीयुक्त तरकारीहरु भित्रिएको भन्दै स्थानिय अर्गानिक तरकारीजन्य उत्पादनलाई बढाउन प्रदेश सरकारले यसै आर्थिक बर्षबाट ठोस कार्यक्रम ल्याउने तयारी भईरहेको उनको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!