इन्टरनेट हेरेर ‘भगवान्’ बनाउँछन् दिनेश

Posted on: 04 Mar, 2018

शेरबहादुर सिंह/ फागुन २०, भीमदत्तनगर | कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–७ सिमलफाटाका ३१ वर्षीय दिनेश विक परिवारको कमजोर आर्थिक हैसियतका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनुभयो । 


एसएलसी पढ्दै गर्दा अध्यापन प्रभावित भएपछि इन्टरनेटको सहारामा विभिन्न कलात्मक मूर्तीहरु बनाउन थाल्नुभएका उहाँ पछिल्ला वर्षहरुमा विभिन्न देवीदेवताका मूर्ती बनाएर मासिक रु ४० हजार भन्दा बढी आम्दानी गरिरहनुभएको छ । ‘अन्य खर्च कटाएर मासिक रु ४० हजारभन्दा बढी नै बचत हुन्छ,’ उहाँले भन्नुभयो – ‘परिश्रम गरे विदेशिनु पर्दैन ।’ 

उहाँको परिवार शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका हुन् । आफूसहित तीन भाइ÷बहिनी अध्ययनमा रहेका बेला पारिवारिक समस्याका कारण आफू विद्यालय छाड्न वाध्य भएको उहाँले बताउनुभयो । ‘परिवारको अवस्था सुध्रोस् भनेर बुबाआमा टहरामा भगवान् पुकारेर बस्थे,’ विकले विगत सम्झिँदै भन्नुभयो – ‘तिनै भगवानका मूर्ति बनाउने सीपले म आज परिवारको खर्च धान्न सक्ने भएको छु ।’ 

शुक्लाफाटाको झलारी बजारमा मूर्ति र कलाको पसल थापेको पाँच वर्षमै आफूले राम्रो आम्दानी लिन सकेको उहाँले बताउनुभयो । ‘धेरै नपढेको भएपनि इन्टरनेटमा मूर्ति बनाउने भिडियोहरु हेरेरै मूर्तिको व्यापार बढाएको छु,’ विकले भन्नुभयो – ‘इच्छाशक्ति भए अध्ययन नै चाहिन्छ भन्ने होइन रहेछ ।’ मूर्ति बनाउने भिडियोहरुबाट आफूले बनाउन सिकेको उहाँको भनाइ छ । 

‘कलात्मक मूर्ति बनाउन सिकाउने गुरु भनेकै इन्टरनेट हो,’ उहाँले भन्नुभयो – ‘एउटा मूर्ति महिना दिनमा तयार हुन्छ ।’ नयाँ वर्ष र दशैं लगायतका चाडपर्वका बेला मूर्तिहरु धेरै बिक्री हुने गरेको उहाँले बताउनुभयो । ‘चाडपर्वका बेला त खर्च कटाएर मासिक रु ७०÷७५ हजार सम्म बचत हुन्छ,’ उहाँले भन्नुभयो – ‘एउटै मूर्ति रु १ लाख २० हजारसम्ममा बिक्री गरेको छु ।’ आफूले सिमेन्टका तीन फिटभन्दा अग्ला मूर्तिहरु बनाउने गरेको र धेरैजसो रु ३० हजारदेखि माथिको मूल्यमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । ‘शुरुमा घरकै अभिभावकहरु मूर्ति बनाएर के गुजारा होला भन्थे,’ उहाँले भन्नुभयो – ‘यही व्यापारबाट घर चलेको छ ।’ 

उहाँले भगवान् शिव–पावर्ती, गणेश, कालिका लगायतका देवताका धेरै मूर्तिहरु बनाएर बिक्री गरिसक्नुभएको छ । अब निकट भविष्यमै कृष्णसारको मूर्ति बनाउने उहाँको योजना छ । झलारी बजारमा सन्देश आर्ट नामक पसल सञ्चालन गर्नुभएका विकले दुई जनालाई रोजगारी समेत दिनुभएको छ । ‘दुई जनालाई पेन्टिङ्गको काम दिएको छु,’ उहाँले भन्नुभयो – ‘मैले बनाएका मूर्तिले ग्राहक सन्तुष्ट छन् जस्तो लाग्छ । अहिलेसम्म असन्तुष्टिका शब्द सुन्नुपरेको छैन ।’ 

सिमलफाटामा अढाई कट्ठा जग्गा लिज लिएर बस्दैआएको विक परिवारले निकुञ्जबाट विस्थापित हुँदा कुनै सहयोग पाएका थिएनन् । ‘विस्थापित भएपछि परिचय पत्र त पायौं, अरु सहयोग केही पाएको छैन,’ उहाँले भन्नुभयो –‘आश्वासनमै दशक बित्यो । राहत पाएनौं ।’ 

सानै उमेरदेखि कलात्मक चित्रहरु बनाउन सौखिन विकले मूर्ति बनाउन थाल्नुभएको पनि एक दशक भयो । 

उहाँले भन्नुभयो – ‘अहिले आधुनिक मूर्ति बनाउने यहाँ अरु कोही भेटेको छैन ।’ 

कञ्चनपुरका विभिन्न ठाउँका साथसाथै बैतडी, डडेल्धुरा र कैलालीबाट समेत आफ्नो मूर्तिको माग हुने गरेको उहाँ बताउनुहुन्छ ।रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!