द्वन्द्वपीडितका लागि राहतका कार्यक्रम ल्याउछौ: मन्त्री मगर

Posted on: 02 Apr, 2018

चैत १९, कञ्चनपुर | दशक लामो द्वन्द्वका क्रममा पीडित भएका नागरिकको घाउमा मलम लगाउने गरी सरकारले राहतको कार्यक्रम ल्याउने खानेपानी मन्त्री बिना मगरले बताउनुभएको छ । 

बेलौरी नगरपालिकाका शहीद तथा बेपत्ता पारिएका परिवारजनलाई साइकल हस्तान्तरण एवं द्वन्द्वपीडित परिवारका सदस्य सम्मान कार्यक्रममा मन्त्री मगरले आफूलाई समेत माओवादी पार्टीले शहीद घोषणा गरी श्रद्धाञ्जलि दिइसकेको स्मरण गर्दै मृत्युकुण्डबाट नयाँ जीवन लिएर आएको बताउनुभयो । 

उहाँले नेकपा (माओवादी केन्द्र) शहीदकै रगतको टीका लगाएर यहाँसम्म पुगेको बताउँदै अब त्यस्तो अवस्था सिर्जना हुन नदिन वाम गठबन्धन गर्नुपरेको बताउनुभयो । निर्वाचनका क्रममा जनतासँग गरेका सबै वाचा पूरा गर्न आफू आतुर रहेको उहाँले बताउनुभयो । 

सो अवसरमा मन्त्री मगरले नगरपालिकाभित्र रहेका ५७ जना द्वन्द्वपीडित परिवारका सदस्यलाई साइकल हस्तान्तरण गर्नुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!