निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई कुनै पनि हालतमा छाड्दैनौं: प्रधानमन्त्री

Posted on: 01 Jan, 2019

पुस १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना आश्चर्यजनक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताएका हुन् ।

प्रहरीले सुरुमा केही गल्तीहरु गरेको र त्यो गल्ती किन गर्‍यो भनेर अनुसन्धान भइरहेको पनि प्रधानमन्त्री ओलीले बताए। 

उनले भने ‘पछिल्लो समयमा एआईजीको तहबाट अनुसन्धान गरेका छौं, तर अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको छ । केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन ।’

नेपाल प्रहरी आम रुपमा अपराध अनुसन्धानमा सक्षम भए पनि निर्मला पन्तको घटनामा अपराधी पत्ता नलाग्नु दुखद भएको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले निर्मला पन्तको घटनामा प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न नपाएको पनि जिकिर गरे । 

प्रधानमन्त्री ओलीले ढिलो छिटो अपराधी पत्ता लाग्ने पनि दावी गरे । ‘यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी बनाउन हामी सक्छौं भन्नेमा विश्वस्त छौं, सरकार यसमा लागिरहेको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!