प्रदेश नं ७ को असी प्रतिशत मुद्दा फछ्र्यौट

Posted on: 19 Jul, 2018

साउन ३, भीमदत्तनगर | प्रदेश नं ७ को उच्च अदालत दीपायल महेन्द्रनगर इजलास र मातहतका जिल्ला अदालतले गत आर्थिक वर्ष २०७४÷०७५ मा ८०.२९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । 

बुधबार कञ्चनपुरको महेन्द्रनगरमा उच्च अदालत दीपायल महेन्द्रनगर इजलासले पत्रकार सम्मेलनको आयोजना गरी मुद्दाको लगत, फछ्र्यौट र बाँकी रहेका मुद्दाहरुका बारेमा जानकारी गराएको हो । 

उच्च अदालत दीपायल महेन्द्रनगर इजलासका न्यायाधीश डिल्लीराज आचार्यले उच्च अदालत दीपायल महेन्द्रनगर इजलासका साथै यहाँका चार वटा जिल्ला अदालतमा गरी गत आवमा कूल एक हजार ७७६ मुद्दा परेको जानकारी दिनुभयो । जसमध्ये एक हजार ४२६ वटा मुद्दा फछ्र्यौट भएको बताइएको छ । 

गत आवमा ३५० मुद्दा बाँकी रहेको उच्च अदालत दीपायल महेन्द्रनगर इजलासको रेकर्डमा उल्लेख गरिएको छ । 

रेकर्डअनुसार उच्च अदालत दीपायल महेन्द्रनगर इजलासमा ५०० मुद्दा परेकोमध्ये ४१९ फछ्र्यौट भएका छन् भने कञ्चनपुर जिल्ला अदालतमा ९६९ मुद्दा परेका थिए । जसमा कञ्चनपुर अदालतले ७६९ मुद्दा फछ्र्यौट गरेको छ । 

त्यसैगरी यहाँको डडेल्धुरामा १०५ मुद्दा गत वर्ष परेका थिए । जसमा ८१ वटा फछ्र्यौट भएका छन् । बैतडी जिल्ला अदालतमा गत वर्ष ९६ र दार्चुला जिल्ला अदालतमा १०६ मुद्दा परेको उच्च अदालत दीपायल महेन्द्रनगर इजलासले जनाएको छ । बैतडीमा परेका मुद्दामध्ये ७७ वटा र दार्चुला जिल्ला अदालतले ८० वटा मुद्दा फछ्र्यौट गरेको छ । 

“तेस्रो पञ्चवर्षीय योजनाअन्तर्गत उच्च अदालत महेन्द्रनगर इजलाससहित सबै जिल्ला अदालतले ६० देखि ७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्नुपर्ने दायित्व थियो”, न्यायाधीश आचार्यले भन्नुभयो, “दायित्वबमोजिम सबै अदालतबाट काम भएको छ ।” 

त्यसैगरी उच्च अदालत दीपायल महेन्द्रनगर इजलासले गत माघदेखि वाणिज्यसम्बन्धी मुद्दा पनि प्रदेश नं ७ मा उच्च अदालत दीपायल महेन्द्रनगर इजलासले मुद्दा हेर्नुपर्ने जिम्मेवारी आएको उहाँले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!