कञ्चनपुरमा असिनापानीले २५ लाख बराबरको तरकारी बालीमा क्षति

Posted on: 30 Apr, 2018

वैशाख १७ कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पुर्याएको हो । 

नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा झण्डै रु २५ लाखभन्दा बढीको क्षति भएको छ । 

वडा नं २, ३, ४ र ११ मा लगाइएको बेमौसमी मकै, बाली, मुङ र केरा खेतीमा क्षति पुर्याएको शाखाका प्रमुख वीरबहादुर कुँवरले बताउनुभयो । 

चारवटै बालीमा झण्डै रु सात लाखभन्दा बढीको क्षति भएको पाएका छौँ उहाँले भन्नुभयो, असिना पानीसँगै आएको हावाहुरीले बोट ढालेको र असिनापानीले चुट्दा पूरै बाली नै सखाप हुनाका साथै आँप र लिँचीमा लागेका ९० प्रतिशत दान झारीदिँदा किसान समस्यामा परेका छन् । 

शुक्लाफाँटाको पिपलाडीका किसान लक्ष्मण चौधरीले असिनापानीले खेतमा लगाइएको गोलभेँडा पूरै फुटालेर कामै नलाग्ने बनाएर नोक्सानी गरेको बताउनुभयो । 

पाँच कट्ठा जग्गामा लगाइएको गोलभेँडा पाकेर टिप्ने तरखरमै थियौँ उहाँले भन्नुभयो, “टिप्न नपाउँदै पूरै बाली नोक्सान भएको छ । 

यहाँका व्यावसायिक तरकारी र फलफूल खेतीमा संलग्न किसानले प्राकृतिक प्रकोपले पुर्याएको क्षतिको पूर्ति गरिदिन मागसमेत गरेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!