बड्डिचौरमा खानेपानी आयोजना सञ्चालन, मन्त्री विना मगरद्वारा उद्घाटन

Posted on: 03 Sep, 2018

भदौ १८, सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखी पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा पाँच करोड बढीको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा आएको छ । बड्डिचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पाँच करोड ३७ लाख ९२ हजार लागतमा आयोजना निर्माण गरेर बराहतालको वडा नम्बर ५ र ८ का नागरिकहरुलाई  खानेपानी वितरण गरेको हो ।

आयोजनाको खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सोमबार उद्घाटन गरकी छन् । बराहताल गाउँपालिका–५ बड्डीचौरमा झण्डै १३ किलोमिटर दुरीमा रहेको डमारेखोलादेखी पाइपलाइनबाट खानेपानी ल्याइएको छ । ०६४ सालदेखी नै यहाँका नागरिकहरुलाई स्वच्छ खानेपानी पुर्याउन समितिले निर्माण शुरु गरेको थियो । समितिले करोडौं रकम खर्चेर खानेपानीकै लागि घण्टौं हिड्न बाध्य नागरिकहरुलाई खानेपानी घर–घरमा वितरण गरेको छ । यहीँ आयोजनाका लागि ०६४–०७१ सम्म चार करोड ५६ लाख २० हजार, वैकल्पिक खानेपानीको मुहानबाट पानी पोखरीसम्म पाइप लाइन विस्तार गर्न २६ लाख ४० हजार, ०७२ मा एक सय घनमिटरको पानी पोखरी निर्माण गर्न २१ लाख, ०७२ मै धुलेचौरमा ६ घनमिटरको पानी पोखरी निर्माण लागतमा चार लाख ५६ हजार खर्च भएको समितिका अध्यक्ष अर्जुनकुमार बुचा मगरले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा मर्मत सुधार बजेट कोषको २१ लाख र जनश्रमबाट चार लाख २० हजार तथा ०७२ मा ६ घनमिटरको पानी पोखरी निर्माणमा चार लाख ५६ हजार बजेट खर्च भएको छ । यो रकम सरकारी अनुदान र जन श्रमदानको हो ।


आयोजना सम्पन्न भएर सञ्चालनमा आएपछि बराहताल गाउँपालिका–५ र ८ का तीनहजार पाँचसय ७७ घरधुरी लाभान्वित भएका छन् । समितिले दुई लाख २८ हजार लिटरका पानी पोखरी निर्माण गरेको छ । उनले चालु आर्थिक वर्षमा वडा नम्बर ८ का उपभोक्ताहरुलाई गुणस्तरिय पानी खुवाउने लक्ष्य राखिएको उल्लेख गरे । यही आर्थिक वर्षमा आयोजना पूर्ण रुपमा सम्पन्न गरेर थप सातसय ७२ धारा वितरण गर्ने समितिले जनाएको छ । यी मध्य सार्वजनिक धारा १० र भने न्यून आम्दानी भएका चार घरमा धारा जडान गरिने अध्यक्ष मगरको भनाई छ ।

भेरी लिफ्टीङ्ग आयोजना शुरु गर्छौंः मन्त्री मगर

यसैविच, खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्न भेरी नदीको पानी लिफ्ट गर्ने योजना चालु आर्थिक वर्षबाट कार्यान्वयन हुने बताएकी छन् । बड्डीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरेको आयोजना उद्घाटन गर्न पुगेकी मन्त्रीले उपत्यकाबासीले सहज खानेपानी वितरण गर्न मन्त्रालय कटिवद्ध रहेको बताएकी हुन् ।


आयोजनाका लागि मन्त्रालयले डिपिआर सकिएर बजेट छुट्टयाउने काम भइरहेको मन्त्री मगरले जानकारी दिइन् । उनले उपत्यकाको खानेपानी संकट केही वर्षमै अन्त्य हुने बताईन् । उनले सुर्खेतमा चौकुने, विद्यापुर, सालकोट र तरंगा खानेपानी आयोजनाहरु सञ्चालन गर्न मातहतका निकायलाई डिपिआरका लागि अग्रहर हुन निर्देशन दिइन् । सरकारको लक्ष्य अनुसार नागरिकहरुलाई स्वच्छ खानेपानी पु¥याउने कार्यमा मन्त्रालय अग्रसर रहेको बताईन् । सुर्खेतमा रहेका खानेपानी र सफाईका क्षेत्रका समस्याहरुलाई एकिकृत गरेर लिएर आउन आग्रह गरेकी मन्त्री मगरले आवश्यकताका आधारमा सुर्खेती जनतालाई स्वच्छ खानेपानी पुर्याउनमा कुनै कञ्जुसाई नगर्ने बताईन् । ‘डाडाँमा घर छ तर तल खोला बगिरहेको छौं’ मन्त्री मगरले भनिन्, ‘पानीकी लागि कयौं दिदी बहिनी घटौं हिड्नु पर्ने बाध्यताको महशुस आफूले गरेकाले यसको निराकण गर्न मन्त्रालय कटिवद्ध रहेको छ ।’ जनतालाई खानेपानीको  आवश्यकता पूरा गरेर विश्व बजारमा नेपाली पानी विक्री गर्ने उदेश्यमा उद्धत भएको उनको भनाई थियो ।

कर र सरकारलाई आलोचना भइरहेका विषयमा ईंकित गर्दै मन्त्री मगरले प्रश्न र हावादारीमा उडिरहेकाहरुको पछि नलाग्न आग्रह गरिन् । केही व्यक्तिहरुले ठूलो स्वरमा आवाज घन्काएर सरकारको धज्जी उडान खोज्दैछन्’ मन्त्री मगरले भनिन्, ‘विग्रिएको घर मर्मत सम्भार गर्दै अघि बढिरहेकाले जनताका अपेक्षाअनुसार काम यहीँ सरकारले गर्छ विचलित नहुनुहोस् ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!