अख्तियारको भवन निर्माण, मूर्ति बनाउन रु एक करोड

Posted on: 06 Nov, 2018

कात्तिक २०, कञ्चनपुर (रासस) | भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालय भवन निर्माण गरिएको छ । महेन्द्रनगर नगर विकास समितिले उपलब्ध गराएको एक बिघा जग्गामा रु सात करोड ३७ लाखमा दुई भवन निर्माण गरिएका हुन् । 

आयोगका कञ्चनपुर प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालका अनुसार प्रशासनिक र प्रहरी ब्लक गरी दुई भवन निर्माण भएका छन् । भवनको सोमबार आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरले उद्घाटन गर्नुभयो । जिल्लामा २०७० सालदेखि अख्तियारले सम्पर्क कार्यालयका रूपमा काम गर्दै आएको छ । 

मूर्ति बनाउन रु एक करोड 

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिका–८ महाकाली शारदापीठ भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउन रु एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ । नेपाल आमाको मूर्ति निर्माण समितिले सोमबार भम्केनीधाममा आयोजना गरेको छलफल कार्यक्रममा नगर प्रमुख विष्टले आगामी नगरसभाबाट सो रकम उपलब्ध गराउने प्रस्ताव प्रस्तुत गरिने बताउनुभयो । 

“भम्केनीधामलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरिएकाले स्थानीय सरकारले त्यसमा सक्दो सहयोग गर्छ,” उहाँले भन्नुभयो । भम्केनीधाममा नेपाल आमाको मूर्ति बनाउन रु १४ करोड लाग्ने अनुमान गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!