वैशाखदेखि देशभरका चलचित्र मन्दिरमा बक्स अफिस

Posted on: 11 Apr, 2019

चैत २८, काठमाडौँ (रासस) | चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ । 

देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक्ने बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराईले बताउनुभयो । “पछि सञ्चालनमा आएका नयाँ चलचित्रघरमा त टिकटको जानकारी कम्प्युटरमा नै अपडेट गरिन्छ तर पुराना घरहरुमा प्रभावकारी रुपमा सञ्चालनमा आउन अलि समय लाग्छ”, उहाँले भन्नुभयो । कम्प्युटर चलाउन नजान्ने चलचित्रघरका कर्मचारीलाई बोर्डले तालीम दिने जानकारी उहाँले दिनुभयो । 

बोर्डले हाल नयाँ सर्भर बनाउनका लागि म्याक्स इन्टरनेशनललाई जिम्मा दिएको छ । म्याक्सले केही दिनपछि नै नयाँ सर्भरलाई कम्प्युटरमा राख्ने काम गर्नेछ । हाल काठमाडौँ उपत्यकाभित्र मात्र बक्स अफिस सञ्चालनमा छ । काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी अहिलेसम्म देशभर  जम्मा ३९४ चलचित्रघर छन्  जसमा हाल २१५ मात्र सञ्चालनमा छन् ।  चालु आर्थिक वर्ष २०७५÷०७६ मा १३  नयाँ चलचित्रघर सञ्चालनमा आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!