रुष्ट महाकालीवासी भन्छन्- 'अब आँखा चिम्लेर भोट हाल्दैनौं'

Posted on: 16 Nov, 2017

कात्तिक ३०, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका वार्ड नं ४ का चन्द्रदेव भट्टले दुई दशकअघिदेखि निर्वाचनमा मतदान गर्दैआउनु भएको छ । 

असी वर्ष टेकेका भट्ट मंसिर २१ गते मतदान गर्न पनि उत्सुक हुनुहुन्छ । नेताहरुले चुनावी वाचा पूरा नगर्दा भने उहाँ असन्तुष्ट हुनुहुन्छ । “नेताहरुले अहिलेसम्म के ग¥यो भनुँ, भोट माग्ने बेला खुट्टा ढोग्यो, नमस्कार ग¥यो, त्यसपछि जितेर गएपछि कहिल्यै फर्केर आएनन्,” उहाँले भन्नुभयो – “मर्दको जवान हुन्छ भन्छन् तर आश्वासन दिएर फर्के पनि काम पटक्कै गरेनन् ।” 

“यसलाई उसलाई भोट हाल्ने त भन्दिनँ, जसले पानीको समस्या हल गर्छ, बाटो बनाउँछ, सिँचाइ दिन्छ, त्यसैलाई भोट दिन्छौं” – उहाँले भन्नुभयो । झोलुङ्गे पुलसित जोडिएको वार्ड नं ४ का भट्टजस्तै आश्वासन पूरा नगरेका कारण दोधारा चाँदनीका बासिन्दा पनि उम्मेदवारसँग असन्तुष्ट छन् । 

महाकाली नगरपालिका वार्ड नं ९ ढकनाघाटका पार्वती रावलले भन्नुभयो, – “कतिसम्म एउटैलाई मत दिने ? खाली आश्वासन मात्रै पाएर के गर्ने ? अब त सुविस्ता गर्नेलाई भोट दिन्छौ ।” 

नेताहरुले चुनावी प्रचारका क्रममा दोधारा चाँदनीमा ‘विकास गरेँ’ भनेर भाषण गरेको सुनेर आश्चर्यमा पर्नुभएका रावल भन्नुहुन्छ, “यो ग¥यो, त्यो ग¥यो भनेर भाषण गर्दैछन्, खै के गरेको छ त हाम्रोमा ? बिजुलीका पोल पनि छैन ।” 

वार्ड नं. ९ को अम्बिका स्कुल बजार नजिक भएर ढकनाघाट जाने बाटोलाई कसैले नहेरेको उहाँले बताउनु भयो । “यो बाटो जस्तो थियो, त्यस्तै छ, कसैले अहिलेसम्म केही गरेन”– उहाँले भन्नुभयो । 

बाइसहजार मतादाता भएका महाकाली नगरपालिकामा अढाई सय मिटरका ७ वटा मात्रै पक्की सडक छन् । ती सडक पनि नगरपालिका बनेपछि मात्रै निर्माण गरिएका हुन् । 

स्थानीय बासिन्दाका अनुसार उम्मेदवारहरुले विगत देखिनै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने, विद्युत्को क्षमता विस्तार गर्ने, कुतियाकवरसम्मको सडक पक्की गर्ने, घरघरमा शुद्ध खानेपानी पु¥याउने, इलाका प्रशासन कार्यालय स्थापना गर्ने, सुकुम्बासी समस्या हल गर्ने र महाकाली नदीमा तटबन्धन गर्ने विषयलाई चुनावी एजेण्डा बनाउँदै आएका छन् । यी चुनावी एजेण्डा पूरा नभएपछि स्थानीय बासिन्दा उम्मेदवारसँग रुष्ट भएका हुन् । 

महाकाली नगरपालिका–९ की पुर्णकला रावत भन्नुहुन्छ, “कसैले केही गरेको छैन । इन्डियाको गाँस, नेपालको बास छ । अब जसले हामीलाई हेर्छ उसैलाई हेर्छौं । पहिला जसरी आँखा चिम्लेर मत हाल्दैनौं ।” 

दोधारा चाँदनीका मतदाता फकाउन वाम गठबन्धन र काँग्रेसका उम्मेदवार लागिपरेका छन् । कञ्चनपुर क्षेत्र नं ३ मा वाम गठबन्धनबाट नेकपा एमालेका डा. दीपक प्रकाश भट्ट र नेपाली काँग्रेसका पूर्व साँसद रमेश लेखक चुनावी प्रतिस्पर्धामा छन् । 

दोधारा चाँदनीसहितको प्रदेश (ख) मा गठबन्धनबाट मान बहादुर सुनार र काँग्रेसका बेल बहादुर राना चुनावी मैदानमा छन् । दुबै उम्मेदवार दिन बिराएर मतदाताका घरमा पुग्न थालेका छन् । 

स्थानीय शिक्षक अमर बस्नेत यस पटकको चुनावमा विगतको जस्तो नतिजा नआउने बताउनुहुन्छ । “विगतको जस्तो राजनीतिक अवस्था छैन, नयाँ पुस्ताले केही परिवर्तन खोजिरहेका छन्” – उहाँले भन्नुभयो । 

दोधारा चाँदनीबाट प्रदेशसभाका उम्मेदवार पनि भएकाले यस अघिको नतिजा दोहोरिने सम्भावना नदेखिएको बस्नेतले बताउनुभयो । स्थानीय तह निर्वाचनमा काँग्रेसले मेयर र एमालेले उपमेयर जितेको छ । 

दश वडामध्ये काँग्रेसले ५, एमाले ४ र माओवादी केन्द्रले एउटा वडा जितेको छ । एमाले र माओवादी केन्द्र मिलेपछि काँग्रेस गठबन्धन वडामा बराबरी भएका छन् । काँग्रेसले चाँदनी र एमालेले दोधाराका वडा जितेको हो । गठबन्धन र काँग्रेस दुबैले अहिले मतदाता तान्न वडा स्तरमा भेला, भेटघाट, प्रचारका कार्यक्रम गर्दैआएका छन् । राजेन्द्रप्रसाद पनेरु/रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!