नगर प्रमुख विष्टद्वारा स्थलगत निरीक्षण

Posted on: 18 Sep, 2018

असोज २, कंचनपुर | भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेका छन् । भीमदत्त नगरपालिका वडा नं. ११ भुजेलामा तटबन्ध तथा वडा नं. ९ मा बाढीले धानबालीमा पुगाएको नोक्सान र ब्रह्मदेब बजार जोड्ने सडकको निरीक्षण गरेका छन् ।


स्थलगत निरीक्षणका क्रममा नगर प्रमुख विष्टले स्थानीयसित समस्याबारे जानकारी लिएर समाधानका लागि प्रतिवद्धता जनाएका छन् । भीनपा–११ भुजेलामा बाढीले भत्काएको तटबन्ध पुनः निर्माणका लागि जनताको तटबन्ध कार्यालयसित पहल गरिने बताए । 

उनले तटबन्ध निर्माणका लागि नगरपालिका कार्यालयबाट हुने सबै सहयोग गरिने प्रतिवद्धता जनाए । महाकाली नदीमा आएको बाढीले भुजेलास्थित तटबन्ध भत्काएपछि स्थानीयले पुनः निर्माणको माग गर्दै आएका छन् । भीनपा–९ मटेनामा कामिकाटे र तिलाची खोलाको बाढीले  अन्नबालीमा पुगाएको  क्षतिको निरीक्षण गरिएको छ । निरीक्षणका क्रममा नगर प्रमुख विष्टले बाढी नियन्त्रणका लागि नगरपालिका कार्यालयबाट सहयोग गरिने बताए । ‘बाढी नियन्त्रणका लागि आवश्यक पहल गर्छौ, यसका लागि संघीय र प्रदेश सरकारसम्म पहल गर्छौ’ उनले भने ।बाढीले मटेनामा ५० परिवारको धानबाली नोक्सान पुगाएको छ । नगर प्रमुख विष्टले जेसिभी लगाएर स्थानीय खतेमा थुपारिएका ढुङ्गा, बालुवा र माटो हटाइने बताए ।यसैगरी नगर प्रमुख विष्टले ब्रह्मदेब बजार जोड्ने सडकको निरीक्षण गरी नगरपालिकाबाट कालोपत्रे गरिने बताए ।

टनकपुर बाँध पूर्वको क्षेत्रमा भारतले एकलौटी रुपमा नेपाली भूमिमा सडक कालोपेत्र गर्न थालेपछि केही महिना अघि विवाद भएको थियो । त्यसपछि भारतले नेपाली भूमिमा सडक कालोपत्रे निर्माण कार्य रोक्का गरेको थियो । नगर प्रमुख विष्टले भारतले एकलौटी रुपमा नेपाली भूमिमा सडक निर्माण गरिएको सडक निर्माण कार्य रोक्न पहल गरेका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कासित समन्वय पहल गरिएपछि सडक निर्माण रोकिएको थियो । ‘भारतले हाम्रो भूमिमा सडक बनाउन कुनै पनि हालतमा स्वीकार्य हुँदैन, त्यो बेला प्रशासन र प्रहरी सबैसित पहल गरी निर्माण रोकिएको थियो’ उनले भने,’ उनले भने,‘अब नेपाली भूमिको सडक नगरपालिका कालोपत्रे गर्छ, त्यसका लागि म आवश्यक प्रक्रिया अघि बढाउँछु ।’

प्रदेश सरकारले ब्रह्मदेब बजारलाई नमूना सहर बनाउन घोषणा गरेकाले त्यसका लागि नगरपालिका आवश्यक सहयोग गर्न तयार भएको नगर प्रमुख विष्टले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ब्रह्मदेबलाई नमूना सहर बनाउन आवश्यक प्रक्रिया सुरु गर्न बजेट विनियोजन गरेको छ । भीमदत्त नगरपालिकालाई सबै वडालाई एक आपशमा जोड्न चक्रपथ निर्माण थालिएको उल्लेख गर्र्दै नगर प्रमुख विष्टले भने, ‘समृद्ध भीमदत्तको नारा सार्थक बनाउन सबै नगरवासीको आवश्यक छ ।’

भीनपा–१ रौटेलाबाट चक्रपथ निर्माण सुरु गरिएको छ । जैविक मार्गलाई ब्रह्मदेबबाट गड्डाचौकी हुँदै झोलुङ्गे पुलसम्म विस्तार गरिने नगर प्रमुख विष्टले बताए । स्थलगत निरीक्षमा नगर प्रमुख विष्ट सहित वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहु, वडा नं. १८ का अध्यक्ष एवम् नगर प्रवक्ता राजेन्द्र पाण्डेय, वडा नं. ९ का अध्यक्ष राम नाथ लगायत जनप्रतिनिधि सहभागी भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!