निर्मला हत्याको छानबिन प्रतिवेदन तयार, केसी भन्छन - 'यसमा म सन्तुष्ट छु'

Posted on: 23 Sep, 2018

असोज ८, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ । आइतबार नै प्रतिवेदन बुझाउने तयारी भए पनि गृहमन्त्री रामबहादुर थापाको समय नमिलेका कारण मंगलबारमात्र बुझाउने तयारी छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले प्रतिवेदन तयार भएको बताए । घटनाको अनुसन्धानमा देखिएको कमी कमजोरीबारे प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए । 

समितिका अर्का सदस्य वीरेन्द्र केसीले प्रतिवेदनमा आफूहरुले जे देख्यो त्यही उल्लेख गरेको बताएका छन् । उनका अनुसार प्रतिवेदन तयार भएको छ । उनले भने 'यसमा म सन्तुष्ट छु ।’  समिति सदस्य रहेका केसीले समितिको कामप्रति असहमति जनाउँदै राजीनामा दिएका थिए । तर पछि फेरि राजीनामा फिर्ता लिएका थिए ।

प्रतिवेदनमा के छ भन्ने उनले खुलाउन चाहेनन् । तर, यो प्रतिवेदनले निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ ।

साउन १० गते साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । प्रहरीले छानबिनमा लापरवाही गरेको भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्नुका छानबिन समिति बनेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!