कञ्चनपुरमा १२ वर्षीय बालक मृत अवस्थामा फेला

Posted on: 10 Dec, 2018

मङ्सिर २४, महेन्द्रनगर | कञ्चनपुरमा एक १२ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर ४ अत्तरिया घर भएका १२ वर्षीय बालक विवेक वम मृत अवस्थामा भेटिएका हुन् । उनको शव घरदेखि २ सय मिटरको दुरीमा रहेको छिमेकीको घरको पछाडीपट्टी गँहुको भुसा राखिएको खुल्ला सटरमा भेटिएको प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए।

प्रहरीका अनुसार सोमबार बिहान ५ बजे बालकको शव भेटिएको थियो ।

परिवार र स्थानीयले बालक गँहुको भुसा राखेको स्थानमा भेटेपछि जिउँदै हुनसक्ने आशामा बोकेर घरसम्म पुर्याएको प्रहरीले जनाएको छ । मृत बालक ढाँडमा निलडाम, कानबाट रगत बगेको, नाकमा चिल्लो पदार्थ लागेको र दिसा गरेको अवस्थामा भेटिएका थिए । 

परिवारका सदस्यले भने हत्या गरिएको हुन सक्ने आशंका गरेका छन् । प्रहरीले मृत्यु शंकास्पद नै रहेको भन्दै अनुसन्धान शुरु गरिएको बताएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्यु के कति कारणले भएको खुल्ने प्रहरीले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!