कञ्चनपुरमा झाडापखालाका बिरामी बढे

Posted on: 14 May, 2019

बैशाख ३१, काठमाडौं | गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । झाडापखाला, बान्ता आउने, टाउँको दुख्ने, रुघा, खोकी, ज्वरोका साथै अस्वस्थ्य खानपानले पनि बिरामी बढेको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले वैशाखको पहिलो सातादेखि नै यहाँ बिरामीको चाप बढेको बताउनुभयो । ‘सबैभन्दा बढी झाडापखालाका बिरामीको सङ्ख्या बढ्दैछ’, उहाँले भन्नुभयो, “यो महीना मात्रै पखालाका १७५ बिरामीको उपचार यहाँ भयो ।” उहाँले दूषित पानीको प्रयोगसँगै अस्वस्थ्यकर खाना प्रयोग गर्नाले झाडापखालाका बिरामी बढेको जानकारी दिनुभयो ।

त्यस्तै महाकाली अञ्चल अस्पतालमा बितेको एक महीनामा चार जनामा मलेरियाको सङ्क्रमण देखिएको छ । ‘भारतबाट आउनेमा यसको सङ्क्रमण देखिने सम्भावना बढेको छ’, उहाँले भन्नुभयो, “यसको न्यूनीकरणका लागि सीमाक्षेत्रमा उच्च सर्तकता अप्नाउनु जरुरी छ ।”

शनिबार राति मात्रै अस्पतालको आकास्मिक कक्षमा ५० भन्दा बढी बिरामी उपचारका लागि राति आएको स्वास्थ्यकर्मीको भनाइ छ ।

लामो समयदेखि विशेषज्ञ चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा कर्मचारी समायोजनले जनशक्तिमा झन अभाव रहेको भट्टको भनाइ छ ।

अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र इकाइमार्फत गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्व्यमसेविका, शहीद परिवार लगायतलाई निःशुल्क औषधि झण्डै एक महीनादेखि अभाव छ ।

अस्पताल प्रशासनले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयसंग औषधिका लागि माग फारम भरेको भए पनि अझै उपलब्ध भइसकेको छैन । औषधि पाउन छाडेपछि दैनिक २० देखि ३० बिरामी मारमा पर्ने गरेका छन् ।

भीमदत्तनगरस्थित एसआर मेडिकलका सञ्चालक शिवराज भट्टले बिरामीको चाप निजी क्लिनिकमा पनि बढेको बताउनुभयो । ‘अस्वस्थ्य र अपज हुने खालका खानेकुराका कारण पनि बिरामी बढेका हुन’, भट्टले भन्नुभयो, “गर्मीमा हिँडडुल र खानपिन गर्दा ख्याल गर्नुपर्ने मौसम छ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!