महिला क्रिकेट शुरु : पहिलो खेलमा सुदूरपश्चिम विजयी

Posted on: 19 Jun, 2019

असार ४, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाउनुभयो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई विकेट तथा कविता जोशीले एक विकेट लिनुभएको थियो । गण्डकीका तीन खेलाडी रन आउट भएका थिए ।

लक्ष्य पूरा गर्न ब्याटिङमा उत्रेको सुदूरपश्चिमले एक विकेट गुमाएर निर्धारित २० ओभरको खेलमा सात ओभरमै लक्ष्य भेटाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाउनुभएको थियो । गण्डकीका तर्फबाट मनिषा उपाध्यायले एक विकेट लिनुभएको थियो । खेलको म्यान अफ दी म्याच कविता कुँवरलाई घोषित गरियो ।

भीमदत्तनगरमा प्रधानमन्त्री कप क्रिकेट शुरु

कञ्चनपुरको भीमदत्तनगरमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । भीमदत्तनगरस्थित क्रिकेट मैदानमा आयोजित उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले खेलकूदको विकासका लागि प्रदेश सरकारले खेलकूद प्रशिक्षण केन्द्र सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । 

“प्रदेश सरकारले खेलाडी कल्याण कोषको स्थापना गर्नाका साथै प्रदेश सरकारले रु ३० करोड रकमसमेत विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “खेलकूदको विकासका निम्ति प्रदेश सरकार सदैव तयार छ ।” राष्ट्रिय खेलकूद परिषद्को सहकार्य तथा स्थानीय महाकाली स्पोर्ट सोसाइटीको व्यवस्थापनमा शुरु भएको प्रतियोगिता यही असार ११ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको पहिलो खेल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच भइरहेको छ । प्रतियोगितामा उपाधि विजेताले रु चार लाख र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी दोस्रो हुने टोलीले रु तीन लाख र ट्रफी तथा तेस्रो हुने टोलीले रु दुई लाख प्राप्त गर्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!