कञ्चनपुरमा जङ्गली हात्तीको बथानले गर्यो उखुबाली नष्ट

Posted on: 11 Sep, 2019

भदौ २५, कञ्चनपुर ।लालझाडी गाउँपालिका–१ विनाबारीमा जङ्गली हात्तीको बथानले उखु बालीमा नोक्सान गरेको छ । गए राति भारतको दुधुवा नेशनलपार्कबाट आएको हात्तीको बथानले गाउँपालिका अध्यक्ष मदसेन वडायकको सहित आधा दर्जन बढी किसानको उखु बालीमा नोक्सानी गरेको हो ।

तीसदेखि ३५ को सङ्ख्यामा रहेका हात्तीले खाएर र खुट्टाले कुल्चेर उखु बालीमा नोक्सानी गरेको गाउँपालिका अध्यक्ष वडायकले बताउनुभयो । “रातभरि हात्तीको बथान उखु बारीमै बस्यो”, उहाँले भन्नुभयो, “मुस्किलले भगाउन सक्यौँ ।” हात्तीको बथान नजिकैको लालझाडी संरक्षित वनतर्फ गएकाले अझै बस्तीमा छिरेर आतंक मच्चाउने चिन्ता रहेको उहाँले बताउनुभयो । 

हात्तीबाट उखु तथा अन्य बाली जोगाउन स्थानीय बासिन्दा रातभर जाग्रामसमेत बस्न थालेका छन् । प्रत्येक वर्ष धान, मकै र उखु बाली पाक्नै थालेका बेला हात्तीले नेपाली बस्तीमा छिरेर नोक्सानी गर्दै आएका छन् ।

केही दिनअघि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छिरेको अर्को हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानले लगाएको धान बालीमा नोक्सानी गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!