कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई बढाइयो कदम

Posted on: 07 Apr, 2020

राजेन्द्रप्रसाद पनेरु | चैत २५, कंचनपुर | कञ्चनपुरमा कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई आवश्यक कार्य अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सङ्क्रमित व्यक्ति कहाँबाट, कहिले, को–कोसँग, कसरी नेपाल प्रवेश गरे त्यसबारेमा जानकारी लिइएको छ । सशस्त्र प्रहरी बल ३५ गण झलारी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, नेपाली सेना, वेदकोट नगरपालिका र स्वाथ्यकर्मीलगायतको प्रयासले कञ्चनपुरमा देखिएको कोरोनाको चेन पत्ता लगाई आवश्यक कदम चालिएको उहाँले बताउनुभयो ।

देश पूरै लकडाउन र सम्पूर्ण सीमानाका बन्द रहेको अवस्थामा यही चैत १४ गते दिनको १२ बजे ११ व्यक्ति भीमदत्त नगरपालिकाको विकट खल्ला मसेट्टी क्षेत्रमा ज्यानको बाजी थापेर ट्युबमार्फत महाकाली नदी तरेर नेपाल प्रवेश गरे । सीमा गस्तीमा रहेको सशस्त्र प्रहरी बल, बिओपी (बोर्डर आउट पोष्ट) ब्रह्मदेवका पाँच जनाको टोलीले ट्युबमार्फत महाकाली तर्ने ११ जनालाई ठाउँको ठाउँ  नियन्त्रणमा लियो । ट्युबमा तार्ने दुई जनाको संलग्नता रहेको पाइयो ।

“नियन्त्रणमा लिइएकालाई व्यक्तिगत विवरण भर्न र स्वास्थ्य जाँच गर्न दिनको ४ बजे गड्डाचौकी ल्याइयो”, सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भन्नुभयो, “गड्डाचौकीमा सम्पूर्ण कागजी प्रक्रिया पूरा गर्नेदेखि क्वारेन्टाइनको व्यवस्था गर्ने काम भयो । सोही दिनको रात ९ बजेर ३० मिनेट जाँदा उनीहरुलाई वेदकोट, सुन्दरपुरमा रहेको क्वारेन्टाइनमा पु¥याइयो ।”

नियन्त्रणमा रहेकाहरुलाई क्वारेन्टाइनसम्म ओसार्न सशस्त्र प्रहरी राजश्व गुल्म, गड्डाचौकीका थप नौ सशस्त्र प्रहरी, यातायात सेवा दिने तीन (सवारी धनी, चालक र सहचालक) को सहयोग रहेको थियो ।  नियन्त्रणमा लिइएकामध्ये एक जनाको पोजेटिभ रहेको पुष्टि भएसँगै उनलाई कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारर्थ भर्ना गरिएको छ । नियन्त्रणमा लिइएका १० जनाको रिपोर्ट नेगेटिभ रहेको र उनीहरु वेदकोटको क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका अन्य १७ सशस्त्र प्रहरी र सवारी चालकलगायतको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा चैत २० गते वेदकोट–९ सुन्दरपुरस्थित क्वारेन्टाइनमा राखिएका ११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा चैत २२ गते रिपोर्ट आएको थियो । कञ्चनपुरका कोरोना सङ्क्रमित व्यक्तिलाई महाकाली नदीमा ट्युबमार्फत तार्न सहयोग गर्ने दुई जनालाई क्वारेन्टाइमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका दुवै जनाको स्वाब परीक्षणका लागि तयारी भइरहेको छ ।

सीमावर्ती भारतीय बजारमा २३८ नेपाली क्वारेन्टाइनमा

कोरोना भाइरस रोकथामका लागि पश्चिमी सीमानाका गड्डाचौकी पूर्णरूपमा बन्द गरिएपछि भारतीय सीमावर्ती बजारमा घर फर्कने नेपाली पुग्ने क्रम रोकिएको छैन । लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको सङ्ख्या बढ्न थालेको हो । सीमा प्रवेश अनुमति नपाएपछि भारतीय भूमिमै नेपालीहरु बस्न बाध्य भएका छन् । भारतका विभिन्न क्षेत्रबाट स्वदेश फर्कनका लागि आउने नेपालीलाई भारतको उत्तराखण्ड प्रदेशको वनवसा, टनकपुरलगायत क्षेत्रमा क्वारेन्टाइनमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार सीमावर्ती भारतीय बजार बनवसा र टनकपुरमा गरी २३८ जनालाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बसेका नेपालीको खाने र बस्ने व्यवस्था भारतीय प्रशासनले मिलाएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार नौ वटै स्थानीय तहमा भारतलगायतका अन्य मुलुकबाट गरी पाँच हजार ४२२ भित्रिएका छन् । भारत, कतार, मलेशिया, युएई र साउदी अरेबियालगायत देशबाट नेपाली भित्रिएका हुन् । भारतबाट भित्रिनेको सङ्ख्या बढी रहेको छ ।

विदेशबाट भित्रिएकाहरु घरमै क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका नौ वटै स्थानीय तहमा क्वारेन्टाइन श्यया ४०६ रहेको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिको सङ्ख्या भने २१० रहेको छ । आइसोलेटेड श्ययाको सङ्ख्या १९ रहे पनि आइसोलेसनमा कोही पनि बसेका छैनन् । पिपीइ (स्वास्थ्य सुरक्षा उपकरण)को सङ्ख्या १७१ रहेको छ । हालसम्म तीन स्थानीय तहले सरकारको मापदण्डानुसार ४२० परिवारलाई राहत वितरण गरेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!