सुदूरपश्चिममा कोरोना परीक्षणको दायरा बढेन

Posted on: 02 Jul, 2020

शेरबहादुर सिंह। असार १८, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि पीसीआर र आरडीटी ‘कीट’ खरिदका लागि रु १ करोड ३४ लाख ८ हजार खर्च गरेको छ । 

केही दिनअघि प्रदेश सरकारले कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा रु ५८ करोड ४८ लाख खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । प्रदेश सरकारले कोरोनाको परीक्षण दायरा बढाउनका लागि आवश्यक मेसिन तथा परीक्षण कीट खरिदमा भने ठोस पहल र खर्च गरेको देखिँदैन् ।

 प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार पीसीआर विधिबाट परीक्षणका लागि प्रदेश सरकारले दुई हजार चार सय थान कीट खरिद गरेको छ । टेण्डर प्रक्रिया मार्फत पीसीआरका लागि प्रतिकिट रु चार हजार ५ सयका दरले खरिद गरिएको हो ।

“दुई हजार चार सय किटमा रु एक करोड ८ लाख खर्च भएको देखिन्छ ।” केन्द्रका जनस्वास्थ्य निरीक्षक लक्ष्मीकुमार श्रेष्ठ भन्नुभयो–“केन्द्रका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाबाट प्राप्त कीट प्रदेश जनस्वास्थ्य प्रयोगशाला र सोझै यहाँ सञ्चालनमा रहेको प्रयोगशालामा उपलब्ध भएको हो ।”

त्यसैगरी प्रदेश सरकारले आरडिटि विधिबाट कोरोना परीक्षणका लागि हालसम्म सुदूरपश्चिममा १ लाख ७४९२ थान ‘टेष्ट कीट’ खर्च भएको आपूर्ती व्यवस्थापन केन्द्र धनगढीले जनाएको छ । ती ८० हजार १५० थान केन्द्रबाट उपलब्ध हुनुका साथै प्रदेश सरकारले २४ हजार ७ सय कीट खरिद गरेको हो ।

“आरडिटि कीट खरिदमा अहिलेसम्म रु २६ लाख ३८ हजार खर्च भएको देखिन्छ ।” उहाँले भन्नुभयो–“आरडिटि टेष्ट कीट प्रति थान रु ९५० परेको छ ।”

त्यसैगरी यहाँका स्थानीय तहरुले पनि आरडीटी परीक्षणका लागि कीट खरिद गरेर परीक्षण गरिरहेका छन् ।

“पालिकाहरुको तथ्याङक यहाँ आइपुगेको छैन ।” उहाँले भन्नुभयो–“पालिकाहरुले पनि स्वास्थ्यकर्मी खटाएर आरडीटी परीक्षण दायरा बढाएका छन् ।”यहाँको प्रदेश सरकारले डोटी र बैतडीमा समेत पीसीआर मेसिन जडान गरेर परीक्षणको दायरा बढाउने भनेपनि जडानको गति भने सुस्त छ ।  तीन स्थानका लागि प्रयोगशालाको सामान धनगढी आउने क्रम जारी रहेको निर्देशनालयको भनाइ छ ।

हाल धनगढीको पशुपंक्षी अन्वेषण केन्द्रमा सञ्चालनमा रहेको पीसीआर प्रयोगशालामा दैनिक बढीमा २५० जनाको मात्रै परीक्षण हुने गरेको प्रयोगशालाका प्रमुख रमेश शाहीले बताउनुभयो । उहाँले प्रयोगशालामा हाल ५ हजार थान परीक्षणका लागि कीट मौज्दात रहेको जानकारी दिनुभयो ।

 प्रदेशमा सञ्चालनमा रहेको एकमात्रै प्रयोगशालाले हालसम्म दश हजार बढीको कोरोना परीक्षण गरेको छ ।यहाँ परीक्षणको चाप बढेपछि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकू स्वाब परीक्षणका लागि पठाउने गरिएको छ । बुधबार साझँसम्म सुदूरपश्चिममा दुई हजार ६११ जनामा कोरोनाको सङक्रमण देखिएको छ । 

यहाँ हालसम्म पीसीआर विधिबाट १८ हजार ८७५ जनाको कोरोना परीक्षण गरिएको छ, भने आरडीटी विधिबाट हालसम्म १ लाख १३ हजार १८४ जनाको परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा हालसम्म ४९५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किसकेका छन । त्यसैगरी यहाँ पीसीआर विधिबाट परीक्षणका लागि लिइएको ५ हजार ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

त्यसैगरी हालसम्मको कोरोना परीक्षणमा २० देखि २९ बर्षीया युवामा सबैभन्दा बढी संक्रमण देखिएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।हाँ सो उमेर समुहमा एक हजार एक सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिममा स्थानीय सङक्रमण नफैलिएको दाबी गरिएपनि कोरोना  सङक्रमण पुष्टि भएकाहरुलाई पनि होम क्वारेन्टाइनमा राख्न सङ्क्रमण फैलिने चिन्ता सर्वत्र छ ।त्यसैगरी नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिनबाट कोरोना परीक्षणको अन्तिम तयारी भइरहेको छ ।

प्रदेशमा कोरोना भाइरसको रोकथाम उपचार र व्यवस्थापनका लागि खडा गरिएको कोषबाट रु ४२ करोड ४८ लाख र प्रदेश सरकारको थप रु १५ करोड कोभिड–१९ को उपचार रोकथाम र व्यवस्थापनका लागि खर्च छ ।

कोभिड–१९ को शुरुको चरणमा प्रदेशका स्थानीय तह धनगढी उपमहानगरपालिकालाई रु पाँच लाख, ३३ नगरपालिकालाई रु चार लाख र ५४ गाउँपालिकालाई रु तीन लाखका दरले रकम उपलब्ध गराइएकामा दोस्रो चरणमा राहत वितरण गर्न रु १५ करोड २६ लाख र तेस्रो चरणमा केही दिनअघि मात्र क्वारेन्टिन र आइसोलेशनको व्यवस्थापन गर्नका लागि रु ६ करोड बजेट उपलब्ध गराइए प्रदेश सरकारको भनाई छ ।

यस्तै कोरोना भाइरस रोकथाम र व्यवस्थापनकै लागि प्रदेशको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन र राष्ट्रिय अनुसन्धानलाई समेत गरी रु एक करोड ५० लाख रकम उपलब्ध गराइएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!