कपिलवस्तुको चिराई खोलामा झोलुङ्गे पुल बनेपछि खुशी

Posted on: 16 Aug, 2020

साउन ३२, चन्द्रौटा । कपिलवस्तुको चिराई खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । विजयनगर गाउँपालिका–१ र ५ को सीमामा रहेको उक्त खोलामा रु ८४ लाख १० हजार ३०० को लागतमा पुल निर्माण भएको हो । लिडो नेपाल संस्थाको सहयोगमा निर्माण सम्पन्न पुलको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले शुभारम्भ गर्दै वर्षात्को समयमा पालिकावासीलाई आवतजावत गर्न नसक्ने अवस्था अब हटेको बताउनुभयो । 

अहिले वडा नं १ का बासिन्दालाई सहज भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो । वर्षैदेखि यहाँका बालबालिका वर्षात्को समयमा विद्यालय जान नसक्ने अवस्थामा रहेको अर्रा प्राविका प्रध्यानाध्यापक सुदिप सारुले जानकारी दिनुभयो । 

झोलुङ्गे पुल निर्माण भएपछि गाउँवासी खुशी भएका छन् । बजार गएको बेला पानी परेमा उतै रोकिनुपर्ने बाध्यता अब हटेको स्थानीयवासी शिवनाथ यादवले बताउनुभयो । झोलुङ्गे पुल निर्माण भएपछि विजयनगर गाउँपालिकाका भगरापुर, नयाँबस्ती, वीरनगर, अस्नारा, मन्नगरा, थरौलीलगायत गाउँका झण्डै ८०० घरपरिवारलाई आवातजावतमा सहज भएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!