माओवादी केन्द्रका एक कार्यकर्ताको अपहरण

Posted on: 11 Apr, 2018

चैत २८, कपिलवस्तु (रासस) | नेकपा (माओवादी केन्द्र)का एक कार्यकर्ता सदरमुकाम तौलिहवाबाट अपहरणमा परेका छन् । 

कपिलवस्तु नगरपालिका–३ क्याम्पसटोल निवासी सुशील तिवारीलाई भारतीय सुरक्षाकर्मीले गएको सोमबार दिउँसो अपरहण गरेको परिवारिक स्रोतले दाबी गरेको छ । 

सोमबार दिउँसो घरबाट सदरमुकाम तौलिहवास्थित पार्टी कार्यालयमा पुगेका तिवारी त्यसपछि सम्पर्कविहीन अवस्थामा रहेको भन्दै परिवारजनले जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि उजुरी गरेका छन् । 

अपहरणमा परेका तिवारीको जीवन रक्षाको लागि पहल गरिदिन उनकी पत्नी सीता तिवारीले आज पत्रकार सम्मेलनमार्फत सरकार, मानवअधिकारकर्मी र पत्रकारसमक्ष अपिल गर्नुभयो । 

अपहरणमा परेका तिवारीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी भारततर्फ लगेको हुन सक्ने उनका दाजु अनिल तिवारीले दाबी गरेका छन् । अपहरणमा परेका तिवारीमाथि भारतमा लागू औषधसम्बन्धी मुद्दा चलिरहेको छ । 

अपहरणमा परेका तिवारीको खोजी कार्य भइरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!